काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले दलहरुबीच आपसी सहमति र विश्वासको वातावरण सिर्जना गरी प्रदेश सरकारको व्यवस्था खारेजका साथै हिन्दूराष्ट्र कायम गर्नु उपयुक्त हुने बताएका छन्।
शनिबार पार्टीका जनवर्गीय संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रुपमा मुलुक टाट पल्टने डरलाग्दो अवस्था भएको तथा संघीय व्यवस्था आर्थिक रुपमा बोझिलो भएकोतर्फ राज्य सञ्चालकहरु चिन्तित नहुनु बिडम्बना भएको बताए। ‘सुदृढ स्थानीय स्वायत्त शासन अनुरुपको अधिकार सम्पन्न स्थानीय निकाय र बलियो केन्द्रीय सरकार भए पुग्छ, बीचको संरचना आवश्यक छैन,' थापाले भने।
यसैगरी सर्वधर्म समभावसहितको सनातन हिन्दुराष्ट्र मुलुकको पहिचान भएकाले यसको महत्व र आवश्यकतामाथि चर्चा गर्दै थापाले राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्रको एजेन्डाले सबैको हित गर्ने स्पष्ट पारे। राप्रपा नेपालबारे धेरै भ्रमहरु छरिएका र प्रायोजित रुपमा बदनाम गराउने प्रयास भइरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्ने अभियान सुरु गर्न जनवर्गीय संगठनलाई निर्देशन दिए।
जनवर्गीय संगठनहरुको गतिविधि र सक्रियताले आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले पार्टी सँगसँगै समानान्तर रुपमा संगठन निर्माणमा जनवर्गीय संगठन केन्द्रित हुन जोड दिए। बैठकले आगामी असार १८ गते काठमाडौंमा जनवर्गीय संगठनको संयुक्त भेला गर्ने र असार २४ र २५ गते राष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा संगठनका प्रमुखहरुले संगठनका गतिविधि र कार्ययोजना प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।