रुपन्देही– जिल्ला समन्वय समिति रुपन्देहीको शनिबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपाईँ २० मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गरेका छन्।
१६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाइन्।
यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका विष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसङ्ख्यकमा कांग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल र लोसपाका मुकेशकुमार पाण्डे विजयी भएका छन्।
यस्तै नेकपा (माओवादी केन्द्र)का मञ्जु परियार र लोसपाका बुधनी चमार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।