काठमाडौं– माइतीघर मण्डला भुइँमान्छेको ठाउँ हो। घरि शरीर पोल्ने प्रचण्ड घाम लाग्छ। घरि घामलाई छोप्न छपक्कै बादल लाग्छ। भुइँमा फम विछ्याइएर सेताम्मे दारीवाल बृद्ध सुतेका छन्। मिडियाकर्मी आइराख्छन्। हातमा ‘मिटर ब्याजी ठगी बन्द गर, तम्सुक फिर्ता गर’ भन्ने पर्चा लिएका छन्।
उनी हुन् नवलपरासीका लामसुवक मुसहर। साहुले तमसुक थमाउँदै २५ कटठा जग्गा हडपेपछि उनी भूमिहीन भएका छन्। लामसुवक मात्रै होइनन्, उनीसँगै ७० जना पीडित काठमाडौं आएका थिए न्यायका लागि। तर, यहाँ आइसकेपछि खान, बस्न निकै गाह्रो भयो। अहिले १४ जना धर्नामा छन्। दुई दिन त उनी पशुपति नजिक बसे। घरबाटै बोकेर ल्याएको खाने सामल सकिएको छ।
आफूजस्तै भूमिहीनको संख्या संयौं रहेको उनी बताउँछन्। ‘भएको जग्गा साहुले बन्द गरेको छ’ उनी भन्छन्। उनका साहु नवलपरासीका चार जना दाजुभाई हुन्। सुनिल बानियाँ, जगदिश बानियाँ, सुरेश बानियाँ र सुजित बानियाँ। बानियाँ दाजुभाईले उनलाई चर्को ब्याजदरमा ऋण दिए। तर, ब्याज त जसोतसो तिर्दै आए पनि साँवा भने तिर्न सकेनन् लामसुवकले। साँवा तिर्न नसकेपछि बानियाँ दाजुभाईले उनको जग्गा हडपे। अहिले उनी सोही जग्गा फिर्ताको माग राख्दै सरकार गुहारिरहेका छन्।
बानियाँ दाजुभाईबाट पीडित अर्का हुन् अवधेश खुस्वा। उनले भारतको बैंगलोरबाट बीबीए अध्ययन गरेका छन्। कमाउने माध्यम केही नभएपछि सानोतिनो संकट टार्न पनि उनका परिवारले बानियाँ दाजुभाईसँगै ऋण लिन्थे। तर, त्यति चर्को ब्याजमा परिवारले ऋण लिएको अवधेशले अध्ययन सकेर आएपछि मात्रै थाह पाए। पढाईकै लागि लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि उनको जग्गा पनि बानियाँ दाजुभाईकोमा बन्दकी छ।
आफ्नो सोझो परिवारलाई चर्को ब्याजदरमा ऋण दिएर जग्गा कब्जा गरेको भन्दै जग्गा फिर्तीका लागि माइतीघर मण्डलामा धर्नामा छन् अवधेश। उनी भन्छन्, ‘मिटरब्याजी ठगी बन्द हुनुपर्छ। पीडितले न्याय पाउनुपर्छ। हाम्रो जग्गा फुकुवाका लागि सरकारले पहल थाल्नुपर्छ।’
यस्तै, सुस्ता गाउँपालिका रामनगरका राज खुस्वा पनि मिटरब्याजकै कारण पीडित छन्। उनी भन्छन्, ‘साहुले एक लाख ऋण दियो भने कागजमा दुई लाख बनाइदिन्छन्। पढ्न नजानेका मानिसलाई त्यो पनि ६० प्रतिशत ब्याज हान्छन्। कैयौं किसानले त ऋण तिर्न नसकेरै हृदयघातका कारण ज्यान गुमाएका छन्।’ गाउँमा मिटरब्याजीविरुद्ध संघर्ष गर्न समिति बने पनि त्यसले न्याय दिलाउन नसकेको उनको भनाइ छ।
उनीहरू आफ्नो जग्गा फुकुवाको माग गर्दै काठमाडौं आएको ६ दिन भइसक्यो। उनी जग्गा फुकुवाका लागि सरकासँग कुरा पुर्याइदिन माग गर्दै पत्रकार ऋषि धमलाकहाँ पुगे। जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि आफ्ना माग राखे। त्यतिमात्र होइन सम्पत्ति सुद्धिकरण आयोगको पनि ध्यानाकर्षण गराए। तर कतैबाट न्यायको पहल हुने विश्वास पाएनन्। त्यसपछि भने उनीहरू माइतीघर रोज्न पुगे।
प्रतापपुर–६ सिरनपुरकी किचरीदेवीको जग्गा पनि साहुकोमा बन्दगीछ। मिटरब्याजका कारण उनले आफ्नो जग्गा कमाउन पाएकी छैनन्। ‘मेरो टाउको त्यति कपाल छैनन् होला जति मैले साहुको ब्याज तिरेको छु’, उनी भन्छिन्। उनले पनि घरमा आवश्यक पर्दा एक लाख रुपैयाँ ऋण लिएकी थिइन्।
तर, साहुले उनको निरक्षरताको फाइदा उठाउँदै एक लाखको पाँच लाख बनाइदिए। साँवा तिर्नु त परैको कुरा हो, ब्याजसम्म तिर्न मुस्किल पर्यो। ‘अरु कमाउने उपाय केही छैन। घरतिर अलिअलि काम गरेर कमाएको रकम पनि साहुको ब्याज तिर्दैमा ठिक्क हुन्छ’, उनी गुनासो गर्छिन्।
सुस्ता–२ का रामशुलभ गुप्ताको समस्या पनि उस्तै छ। उनले छोरीको विवाह र घरखर्चका लागि साहुसँग सात लाखको ऋण लिए। तर, कागज बनाउँदा साहुले १४ लाख बनाइदिए। उनले पत्ता पाएनन्। उनले त त्यो पनि तिरे। तर, साहुले ब्याजसहित ३२ लाख पुगेको भन्दै जग्गा रोकिदिए।
उनको लालपूर्जा बानियाँसँग छ। ‘हामीलाई सरकारी निकायले ऋण दिँदैनन्। स–सानो आवश्यकताका लागि पनि साहुसँगै जानुपर्छ’, उनी भन्छन्, ‘हाम्रो बाध्यताको फाइदा उठाउँदै मनपरी कागज बनाउने र चर्को ब्याज असुल्छन्। पूरै जीन्दगी ब्याज तिर्दै जान्छ।’
उनीहरू ठाउँमा विवाह, ब्रतबन्ध, बिरामी पर्दा होस या विदेश जाँदा साहुकै ऋण लिन बाध्य छन्। उनले आफ्नो ठाउँका पाँचसय परिवारको जग्गाको लालपूर्जा बानियाँसँग रहेको बताए। जग्गा साहुकोमा हुँदा उनले कुनै आम्दानीको काम गर्न पाएका छैनन्। राज्यले यस्ता मिटरब्याजी साहुलाई कारबाही गरेर गरिबलाई न्याय दिलायनुपर्ने माग गुप्ताको छ।
‘राज्य साहुले बन्दकी राखेका हाम्रा लालपूर्जा दिलाउनुपर्छ। चर्को ब्याजबाट असुलेको रकम पनि फिर्ता गर्नुपर्छ। एक लाख ऋण लिएर करोडौंको जग्गा रोकिएको छ। हामीले केही काम गर्न पाएका छैनौं’, उनी भन्छन्। उक्त गाउँका सबैलाई गरी बानियाँ दाजुभाईले ४५ लाखजति ऋण दिएको उनले बताए। तर, त्यसवापत साहुले एक अर्ब बढी मूल्यको जग्गाको लालपूर्जा कब्जा गरेका छन्। उनले गाउँमा ऋण तिर्न नसकेरै हृदयघातबाट गाउँमा चार जनाको मृत्यु भइसकेको जानकारी दिए।
‘न्यायका लागि प्रशासन, मानवअधिकारमा पनि गयौं। तर, त्यहाँबाट हामीलाई न्याय मिलेन। यस्ता ठगलाई त राज्यको कानुले पनि छुन नसक्ने रहेछ’, उनले दुःखेसो पोखे। आन्दोलन नगरेसम्म न्याय नपाइने भएकाले कामकाज सबै छाडेर काठमाडौं आएको उनको भनाइ छ।
यस्तै सहेवु नेसाको श्रीमानको हृदयघातबाट भएर मृत्यु भएको तीन वर्ष भयो। उनका श्रीमान हृदयघातमा पर्नुको एउटै कारण हो चर्को मिटरब्याज! उनका श्रीमानले साहुसँग एक लाख ८० हजार ऋण लिएका थिए। ऋणको सट्टामा साहुले १८ कट्ठा जमिन धितो राखे। ऋण तिर्न नसकेपछि साहुले उक्त जग्गा बेचिदिए। ‘हाम्रो जग्गा बिक्रीबाट साहुले ३६ लाख रुपैयाँ उठाए, तर हामीलाई दिएनन्। न हामीले जग्गा पायौं न जग्गा बिक्रीबाट आएको रकम नै। त्यहि तनावका कारण पनि हृदयघाटबाट मेरा श्रीमानको मृत्यु भयो’, उनी भन्छिन्।
यसरी साहुको तनावले मर्नुभन्दा बरु आन्दोलनमा राज्यले चलाउने गोली लागेर मर्नु उचित लागेको उनको भनाइ छ। ‘हाम्रा माग पूरा नभएसम्म घर फर्किन्नौं। बरु आन्दोलन चर्काउँछौं। साहुको तनावले मर्नुभन्दा बरु राज्यले हामीमाथि गोली चलाओस्’, उनले दुःखेसो पोखिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।