म्याग्दी, (रासस) - आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ।
बिहीबार र शुक्रबार गरी दुई दिनसम्म बसेको एमाले जिल्ला कमिटीको बैठकले उम्मेदवार बन्ने आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेश क्षेत्रीय कमिटीबाट उम्मेदवारका लागि सिफारिस भएर आएका सबैको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।
प्रतिनिधिसभामा १ र प्रदेशमा २ निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट एमालेले उम्मेदवारको छनोटका लागि २८ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारका लागि प्रदेश क्षेत्र नं १ तर्फबाट प्रत्यक्ष उम्मेदवारमा ९ र प्रदेश नं २ क्षेत्रबाट पाँचजनाको नामावली सिफारिस गरिएको छ।
त्यस्तै, प्रतिनिधिसभामा समानुपातिकतर्फ छजना र प्रदेशसभातर्फ आठजनाको नाम सिफारिस गरिएको एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, प्रदेश क्षेत्रीय समन्वय कमिटीबाट सिफारिस भएर आएका नामलाई नै प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार छनोटका लागि पार्टीको प्रदेश र स्थायी कमिटीमा पठाइएको छ।
एमालेले प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारमा भूपेन्द्र थापा, हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, दीपक कार्की, तर्कबहादुर कटुवाल, सन्तोष रावल, नारायण जिसी, गोविन्द पौडेल र लोकबहादुर भण्डारीलाई सिफारिस गरेको छ।
त्यसैगरी, २ नं क्षेत्रमा प्रत्यक्ष उम्मेदवारमा नवराज शर्मा, नरदेवी पुन, बलभद्र ढकाल, याम गर्बुजा र रेशम भण्डारीलाई सिफारिस गरेको छ । दुवै क्षेत्रबाट आएका नामबाटै प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार चयन गर्नेगरी सिफारिस गरिएको एमाले म्याग्दीले जनाएको छ।
एमाले म्याग्दीले प्रतिनिधिसभामा समानुपातिकतर्फ मुना बानियाँ, देउप्रसाद छन्त्याल, कृष्णकुमार विश्वकर्मा, यशोदा रोका, होमबहादुर थापा र केपी अधिकारीलाई सिफारिस गरेको छ भने प्रदेशसभाअन्तर्गत समानुपातिकमा पशुपति शाही, विष्णु गुरुङ, मीठु थापा, यामबहादुर खड्का, प्रेमप्रकाश रेग्मी, शंकर शेरचन, तेज गुरुङ र धनबहादुर गुरुङको नाम सिफारिस गरी पठाइएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।