काठमाडौं– नेकपा एमालेका उपमहासचिव तथा पूर्वपराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका कुरामा दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्।
शनिबार आयोजित ‘वर्तमान कूटनीतिक अभ्यास र यसको प्रभावहरु’ कार्यक्रममा उनले दलीय स्वार्थभन्दा माथि उठेर साझा राष्ट्रिय सोचका साथ अगाडि बढ्नुपर्ने बताए।
उनले आन्तरिक राजनीति खपतका निम्ति बाह्य सम्बन्धलाई गिजोल्ने काम गरिएकोमा असन्तुष्टि व्यक्त गरे। ‘एउटै उदाहरण–एमसीसी यतिबिघ्न किन गिजोलियो? आखिर पास हुने रहेछ। तर, दुई–वर्ष, तीन वर्ष सडकमा आगो बल्ने स्थिति किन सिर्जना भयो? कसका कारणले किन, यी सबै कुराहरुले मुलुकको विश्वसनीयतालाई चुनौती खडा गर्छ?’, उनले भने।
ज्ञवालीले बाह्य सम्बन्धको सुरुवात छिमेकीहरुको बीचबाट हुने बताए। उनीहरु नेपालको मुख्य विकास साझेदार, व्यापारिक साझेदार, पर्यटकका मुख्य स्रोत भएको उनको भनाइ छ। छिमेकी देशकाबीचमा परिपक्व र सन्तुलित सम्बन्ध राख्न सकिएन भने त्यसका चापहरु थेग्न गाह्रो हुने उनले बताए।
‘एकातिर हामी र भारतबीच झन्डै १९ सय किलोमिटर खुला सिमाना छ। चीनका आफ्नै संवेदनशीलता छन्। यी सबै कुरालाई ध्यानमा राखेर हामीले हामीले कूटनीतिक अभ्यासहरुलाई कसरी लगिरहेका छौं भन्दा गम्भीर प्रश्न उठ्ने ठाउँहरु छन्’, उनले भने।
उनले परराष्ट्र नीति संविधानले दिशा निर्दिष्ट गरेको, संविधानले परिभाषित गरेको अनुसार राष्ट्रिय हितको केन्द्रबिन्दुमा हुनुपर्ने बताए। ‘सन्तुलित, परिपक्व र संयुक्त राष्ट्र संघको बडापत्र, अलंग्नता, पञ्चशील र विश्व शान्तिका मान्यताबाट निर्देशित हुनुपर्छ। हामी कुनै पनि हिसाबले शक्ति राष्ट्रको रणनीतिको अंग बन्न सक्दैनौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।