काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयमा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु हुने बताएका छन्। विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
‘यसै वर्षदेखि विश्वविद्यालयले चिकित्सा संकायको सुरुवात गर्ने गरी डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरुयोजना निर्माणको कार्य अगाडि बढाउँदैछ,’ प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न आवश्यक बजेट पनि विनियोजन गरेको छ।’
विश्वविद्यालयले सुदूरपश्चिमका निम्न र मध्य आय भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै देउवाले गुणस्तरीय जनशक्ति उत्पादनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
‘समयअनुसार विश्वविद्यालयको शैक्षिक र व्यवस्थापकीय सुधार हुन आवश्यक छ,’ उनले भने, ‘आउँदा केही वर्षमा मुलुककै उत्कृष्ट संस्था बन्नेमा आशावादी छु।’
समारोहमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। यस्तै ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी पनि दीक्षित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।