काठमाडौं– प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई अमेरिकी हिन्द–प्रशान्त रणनीतिको हिस्सासँग जोडिएका कुनै पनि कार्यक्रममा सम्झौता नगर्न दिर्नेशन दिएको छ।
शुक्रबार बसेको बैठकले अमेरिकी राज्य साझेदारी कार्यक्रम अमेरिकी हिन्द प्रशान्त रणनीतिको हिस्साको रुपमा रहेको तथ्य अमेरिकी सरकारद्वारा प्रकाशित प्रतिवेदनमै उल्लेख भएकाले अबदेखि त्यस्ता कुनै पनि सम्झौतामा संलग्न नहुने कुरा स्पष्ट रुपमा अमेरिकालाई अवगत गराउन सरकारलाई निर्देशन दिएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको आशन्न अमेरिका भ्रमणमा उक्त सम्झौता हुन लागेको विषयमा ध्यानाकर्षण भएको भन्दै समितिले त्यस्तो प्रकारको कुनै पनि सम्झौता नहुने कुरा स्पष्ट अमेरिकासमक्ष अवगत गराउन निर्देशन दिएको छ।
शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा लगायत सहभागी थिए।
यस्तै बैठकले सम्झौताका विषयमा उठेका कुराबारे समितिमा आएर जवाफ दिन पनि निर्देशन दिएको छ। आशन्न अमेरिका भ्रमणका बेला उक्त सम्झौतालाई ध्यानमा राख्नुका साथै कुनै विवादास्पद एवं स्वतन्त्र र असंलग्न पराराष्ट्र नीतिसँग मेल नखाने विषयमा सहमति नगर्न पनि देउवालाई समितिले निर्देशन दिएको छ।
साथै रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र नेपाली सेनाले अमेरिकासँग गरेका सहमति र पत्राचार पनि सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ। यस्तै तत्कालीन सचिवको नेतृत्वमा रक्षा सचिव, गृह सचिव र नेपाली सेनाका प्रधान सेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई पनि समितिमा प्रस्तुत गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ।
यी हुन् समितिकाे बैठकले गरेका निर्णयहरु

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।