काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम(एसपीपी)मा सहभागी हुने निर्णय सुशील कोइराला रक्षासहित प्रधानमन्त्री हुँदा भएको स्पष्ट पारेका छन्।
एमालेले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा ओलीले आफ्नो पालामा सेनाले पत्र पठाएको भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका हुन्।
उनले भने, '२०७२ साल असोज ६ गते सुशील कोइराला प्रधानमन्त्री तथा रक्षामन्त्रीको हैसियताले निर्णय गर्नुभएछ - एसपीपीमा नेपाल पनि पक्ष हुन पाओस् भनेर। उहाँले त्यसका लागि आग्रह गर्ने भनेर निर्णय गर्नुभएको रहेछ। त्यो निर्णयका आधारमा असोज १३ गते सैनिक हेडक्वाटरले पत्र लेखेको रहेछ। हामीलाई कतै पनि बताइएन।'
आफू २०७२ असोज २४ मा निर्वाचित भएर २५मा शपथ ग्रहण गरेको बताउँदै ओलीले तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले असोज १० गते नै अमेरिकी राजदूतावासलाई पत्र लेखेको बताए। 'उनले मन्त्रीस्तरले निर्णय गरेको हुँदा अघि बढाइ पाउँ भनेर पत्र लेखेका रहेछन्। एम्बेसीलाई सेनाले त्यसरी पत्र लेख्दैनन्,' ओलीले भने, 'तर सेनापति आफैंले लेखेको रहेछ।'
सेनापति क्षेत्रीले लेखेको हाल सार्वजनिक पत्रबारे आफूलाई जानकारी नभएको बताउँदै उनले गुपचुप राखिएको आरोप लगाए। 'त्यो भन्दा १५ दिनअघि म प्रधानमन्त्री भइसकेकको छु। गुपचुपै राखियो,' उनले भने, '२०७४ साल वैशाख २४ गते राजेन्द्र क्षत्रीले नै प्यासिफिक कमान्डलाई पत्र लेख्नुभएको रहेछ। निवेदन दिएका थियौं किन सेलायो भनेर लेख्नुभएको रहेछ।'
पछि आफ्नो सरकार आएपछि गाइँगुइँ चलेको उनले बताए। इन्डो प्यासिफिक रणनीतिको ३८ पेजमा पछिल्लोपटक नेपाल र श्रीलंका संलग्न समाचार उल्लेख गरिएको उनले बताए।
'हामीले त्यसलाई हेरेर हामी गएका छैनौं र जाने कुरा आउँदैन। हाम्रो परराष्ट्र नीतिले मान्दैन। पञ्चशीलका सिद्धान्तभित्र पर्दैन। असंलग्न परराष्ट्र नीतिमा यस्ता कुनैपनि प्रकारको अलायन्समा नहुने भन्ने भनेर हामीले जवाफ दियौं,' उनले भने।
ओलीले रक्षामन्त्री ईश्वर पोखरेल तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भएको समयमा परराष्ट्र सचिवको नेतृत्वमा छानबिन समिति बनाएको बताए। उनले थपे, 'यो उपयुक्त थिएन। हुँदैन र यो हाम्रो सोच भन्दा बाहिरको कुरा हो। हाम्रो तटस्थ नीतिभित्र कुनै सेनाको अलायन्समा जाने कुरा पर्दैन भनेर निर्णय नै गर्यौं । त्यो च्याप्टर क्लोज भयो।'
अहिले त्यो भन्दा गम्भीर ढंगले अगाडि बढाउन र आफूलाई आरोप लगाउन खोजिएको भन्दै उनले कार्यकर्तालाई सचेत गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।