काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पत्र आफ्नो पालामा नपठाएको बरु त्यसलाई रोक्ने काम भएको दाबी गरेका छन्।
शुक्रबार एमाले जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले एसपीपीलाई आफू प्रधानमन्त्री हुँदा पत्र पठाएको चर्चालाई अस्वीकार गरेका हुन्।
‘मेरो नेतृत्वको सरकारको समयमा यो नगर्ने भनेर टुङ्गो लागेको थियो,’ओलीले भने ‘अहिले भ्रम फिजाउनका लागि केपी ओलीको नेतृत्वमा भएको आरोप लगाइयो। भ्रम छर्ने पनि हद हुन्छ नि!’
वर्तमान सरकारले एमसीसी पारित गरेसँगै हौसिएर अमेरिकी सेना राख्ने तयारी गरेको र नेकपा एमालेले त्यसको बिरोध गरेपछि सरकार पछि हटेको दाबी गरे। ‘अमेरिकाको एक राज्यले नेपाली सेनासँग बराबरी सम्झौतामा हस्ताक्षर गलत छ। सैन्य गठबन्धनमा हामी जाँदैनौं’, ओलीले भने, ‘त्यो गलत छ। भूकम्पको समयमा त्यसलाई सहयोग गर्नका लागि भनेर तत्कालीन समयमा गरिएको थियो।’
ओलीले कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री स्वगीय सुशील कोइरालाको समयमा पत्राचार गरिएको दाबी गरे।
‘अहिले गठबन्धनले एमसीसी पास गरेर हौसियर सैनिक राख्ने ड्राफ तयार गरेको हो’, उनले भने, ‘हामीले हल्ला गरेपछि यो रोकिएको हो।’
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालतर्फ देउखाउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले रक्सी खाएर सम्झौता गर्न सक्ने टिप्पणी गरे। संसदीय समितिको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई नशामा पारेर हस्ताक्षर गराउन सक्ने भन्दै सचेत हुन आग्रह गरेका थिए।
ओली पहिलो पटक प्रधानमन्त्री बनेको केही दिनमा नै नेपाली सेनाले उक्त पत्र पठाएको थियो जुन बिहीबार सार्वजनिक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।