काठमाडौं– राष्ट्रिय सभाका सदस्य (सांसद) बामदेव गौतमले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अगाडि बढाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नै भूमिका देखिउको बताएका छन्। यो प्रस्ताव तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइरालाको पालामा अगाडि बढेको भनेर चर्चा चलेपछि आफूले त्यसबारे अध्ययन गरेको र अध्ययनका क्रममा प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाएको गौतमले सुनाए।
कोइराला नेतृत्वको सरकारका बेला नेकपा एमालेको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री रहेका गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकमा भने, 'सुशील कोइरालाको पालामा अगाडि बढाइएको भन्ने भएपछि म पनि त्यसमा संलग्न भएको देखिने भयो। फेरी प्रधानमन्त्रीले गरेको, म त्यसमा संलग्न छैन भन्दिनँ। ममाथि पनि आरोप लाग्न सक्दछ भनेर मैले त्यस सम्बन्धमा खोजी नीति गर्दा अब के–के भएको हो, अस्तीमात्रै एउटा पत्र आएको छ। र, त्यो पत्रले प्रष्ट पारिदिएको छ–यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेलाका प्रधानमन्त्री भएको अध्यक्षज्यू, त्यसमा संलग्न हुनुहुन्छ।'
गौतले यसको सुरुवात जसले गरे पनि त्यसबेलाका प्रधानमन्त्री ओली यसलाई अघि बढाउने काममा संलग्न भएको उल्लेख गर्दै ओलीले सदनलाई पनि सो कुरा बताउनुपर्ने माग गरे। 'अब सदनलाई साँचो कुरा बताउनु पर्दछ, र सत्य बताउँदा कोही पनि सानो हुँदैन। पार्टी पनि सानो हुँदैन, व्यक्तित्व पनि सानो हुँदैन,' गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।