काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई लक्षित गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले आफू सरकारमा हुँदा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) किन खारेज नगरेको भन्दै प्रश्न गरेका छन्। एसपीपी प्रकरणमा एमालेले दोहोरो भूमिका खेलेको पनि परराष्ट्रमन्त्री खड्काको आरोप छ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा सांसद्हरुले एसपीपी सम्झौताको विषयमा उठाएको प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री खड्काले एमालेको भूमिकाको आलोचना गरेका हुन्।
समितिको बैठकमा बोल्दै तत्कालीन रक्षामन्त्री एवं एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूहरुले उक्त सहमतीका बीचमा छलफल गरेको जानकारी समितिमा गराएका थिए। यअघि बुधबार प्रतिनिधि सभा बैठकमा एसपीपी सम्झौताको विषयलाई लिएर नेपाली कांग्रेस र वर्तमान गठन्धन सरकारको आलोचना गरेका थिए।
सन् २०१५ मा भूकम्पपछिको राहत र उद्धारमा मानवीय सहायता प्राप्त गर्न नेपाली सेनाले अमेरिकालाई (एसपीपीअन्तर्गत) पत्राचार गरेको भएपनि त्यसपछि २०१९ मा तत्कालीन (एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको) सरकारले 'सम्झौता' खारेजका लागि किन पहल नगरेको भन्दै परराष्ट्रमन्त्री खड्काले एमालेलाई प्रश्न गरे।
अमेरिकाले स्टेट पार्टनरसिप प्रोजेक्ट (एसपीपी)लाई पनि आफ्नो सैन्य रणनीति हिन्द प्रशान्त रणनीतिअन्तर्गत ल्याएपछि सन् २०१९ मा नेपाली सेनालाई सरकारलाई पत्र नै पठाएको विषय बैठकमा उठेको थियो। प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन सरकारलाई एसपीपीका सन्दर्भमा रिभ्यू गर्नुपर्ने भनेर सन् २०१९ मा आग्रह गरिएको बैठकमा जानकारी गराएका थिए।
परराष्ट्रमन्त्री खड्काले तत्कालीन (ओली नेतृत्वको) सरकारले सन् २०१९ मै खारेज गरिदिनुपर्नेमा एसपीपी होल्ड गरेर राखेको भन्दै एमालेले दोहोरो भूमिका खेलेको टिप्पणी गरे। वर्तमान अवस्थामा खारेज गर्ने विषयमा आफूले परामर्श गरिरहेको खड्काको भनाइ थियो। खड्काले प्रधानमन्त्री, नेपाली सेनासहित सम्बन्धित सरोकारवाला निकायसँग परामर्श गरेर त्यसबारे निर्णय लिइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।