काठमाडौं- अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) को विषय अब सरकारले स्वीकार गर्न नसक्ने भनेकाले थप कोट्याउन आवश्यक नभएको भनि परराष्ट्रमन्त्री नारायण खड्काले दिएको जवाफप्रति एमाले सांसद भीम रावलले आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा सांसद् रावलले परराष्ट्रमन्त्री खड्काको भनाइ आपत्तिजनक भएको टिप्पणी गरे।
‘एसपीपीको विषय नकोट्याउँ भनेर परराष्ट्रमन्त्रीले भन्न मिल्दैन’, उनले भने, ‘यससम्बन्धी विस्तृत रुपमा जानकारी दिनु पदीय र कानुनी दायित्व हो। त्यसैले संसदीय समितिमा यो कुरा स्पष्ट राख्नुपर्छ।’
उनले यस्तो सम्झौताले नेपालको सार्वभौमसत्ता खतरामा पर्ने र नेपालको हितमा नभएको कुरा जनताले पनि जान्न पाउनुपर्ने भएकाले स्पष्ट पार्नुपर्ने दायित्व परराष्ट्रमन्त्रीकै भएको बताए।
उनले अमेरिका र नेपालका बीचमा सैन्य सम्झौता हुन नसक्ने र नेपालका सेना आउने तथा छिमेकी चीनको सिमानासँगै रहेका उच्च हिमाली भू-भागमा अभ्यास गर्ने कुरा अझ आपत्तिजनक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।