काठमाडौं- प्रधान सेनापति प्रभुराम शर्माले आसन्न अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारेको छलफलमा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै उनले आफ्नो अमेरिका भ्रमणका क्रममा कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन्।
उनले नेपाली सेना सैन्य गठबन्धनको सम्झौता गर्ने पक्षमा नरहेको र नगर्ने पनि बताए।
‘अहिलेसम्म यस्तो कुनै पनि सम्झौता गर्ने मनसाय वा तयारी केही पनि छैन’, उनले भने ,‘मेरो अमेरिका भ्रमण विशुद्ध दुई देशका बीचमा हुने भ्रमणमात्र हुने छ।’
एसपीपीको विवरण सार्वजनिक हुनु अघि यो दस्तावेजमा सुरुमा सेनापतिलाई हस्ताक्षर गर्न अमेरिकाका तर्फबाट दबाब आएको विषय सार्वजनिक भएको थियो।
सेनाले चासो नदेखाएकाले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणमा हस्ताक्षर गर्ने चर्चा चलेको थियो। तर त्यसअघि नै मस्यौदाको नाममा केही विवरण सार्वजनिक भएपछि यो विवादले संसदमा पनि प्रवेश पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।