काठमाडौं - प्रधानमन्त्री शेर बहादुर देउवाले संसारभरि रहेका प्रवासी नेपालीहरुलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न अपिल गरेका छन्।
गैरआवासीय नेपाली संघ द्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशमा आर्जन गरेको पूँजी, ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्न आग्रह गरे।
उनले आउँदो वर्षको बजेटमा नेपाल सरकारले विदेशी लगानीको न्यूनतम सीमा रु ५ करोडबाट घटाएर रु २ करोड कायम गरेको, त्यस्तै रु १० करोड सम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाउन लागेको जनाए।
उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मार्फत योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा आवद्ध गर्ने निर्णय भै सकेको पनि जनाए।
प्रधानमन्त्री देउवाले नेपाल सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालका बैंकमा डलर खाता खोल्न सहज गरेको साथै गत जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक व्याजदर दिने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताए। उनले संसारभरि रहेका नेपालीहरुलाई डलर खाता खोलेर तथा बचत पत्र किनेर फाइदा उठाउन आग्रह पनि गरे।
एनआरएनका लागि 'विशेष आर्थिक क्षेत्र'
परराष्ट्रमन्त्री डा. नारायण खड्काले गैरआवासीय नेपाली हरुको लगानी प्रोत्साहन गर्न सरकारले 'विशेष आर्थिक क्षेत्र' (एस इ जेड) स्थापना गर्ने बारे सोचाइ भैरहेको जानकारी दिए।
उनले नेपालको संविधानको धारा १४ अनुसार गैरआवासीय नेपालीहरुका लागि गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न सरकार कटिबद्ध रहेको बताए।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले गैरआवासीय नेपालीहरुको लगानी प्रोत्साहन गर्न सरकारले 'विशेष आर्थिक क्षेत्र' (स्पेशल इकनमिक जोन) स्थापना गर्नेबारे सोचाइ भैरहेको जानकारी दिए।
उनले सरकारले वैदेशिक रोजगारबाट फर्केका नेपालीहरुका लागि एउटा 'च्यालेन्ज फन्ड' स्थापना गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन लागेको पनि जनाए। उनले संघलाई एकजुट भएर अगाडी बढ्न पनि आग्रह गरे।
संघका अध्यक्ष डा. बद्री केसीले नेपालको संविधानको धारा २९१ ले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिक प्रति भेदभाव पूर्ण भएकाले उक्त धारा संशोधन गर्न माग गरे। उनले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्न पनि आग्रह गरे।
संघका कार्यकारी अध्यक्ष कुल आचार्यले संसदको चालु अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता विधेयक पारित गराउने भनेर प्रधान मंत्री देउवाले दिएको आश्वासनबाट आफुहरु उत्साहित भएको बताए। उनले गैरआवासीय नेपाली ऐन र नियमावलीमा पनि सामयिक परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गरे।
उनले एनआरएन कार्ड प्रदान गर्ने व्यवस्थालाई सहज बनाउन, म्यान्मार, थाईल्याण्ड लगायतका मुलुकमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली मूलका व्यक्तिहरुका लागि ‘पिपुल अफ नेपाली अरिजिन’ (पीएनओ) को व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे।
उनले संसारभरि रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा डलर खाता खोल्न तथा साढे १२ प्रतिशत व्याज पाउने वैदेशिक रोजगार बचत पत्र किनेर लाभान्वित हुन अपिल पनि गरे।
'हिजो भारत, पाकिस्तान आदि मुलुकहरुमा त्यहाँका डायस्पोराले यसरि नै आफ्नो मातृभूमिलाई सघाएको थियो। यो ऐतिहासिक जिम्मेवारी पुरा गर्न सक्रिय रहन म संघका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई पनि अपिल गर्दछु,' आचार्यले भने।
संघका महासचिव डा. केशव पौडेलले संचालन गरेको कार्यक्रममा गैर आवासीय नेपाली नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगारका सम्बन्धमा अन्तरक्रिया भैरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।