काठमाडौं– एमालेका सांसद भानुभक्त ढकालले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। बजेटको सूचना लिक भएको र अनधिकृत व्यक्तिलाई प्रवेश गराएर दर परिर्वतन गरिएको कुरालाई लिएर एमालले विरोध स्वरुप संसदीय छानबिन समिति निर्माणको माग गर्दै आएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले पनि छानबिन नहुँदासम्म अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन्। उनले भने, ‘अर्थ मन्त्रालय सम्बन्धी प्रस्तावमा तीन दिनदेखि प्रश्न उठाएका छौं। राजीनामा दिनुपर्छ भन्ने हाम्रो अडान कायमै रहेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै अर्थमन्त्रीलाई समय उपलब्ध गराउने कार्यसूची राखियो।’
राष्ट्र बैंकका गभर्नर हटाउने योजनाबाट विफल भएपछि नै राजीनामा दिनुपर्नेमा त्यो नगरेर अझ बजेटमा अनधिकृत व्यक्ति घुसाएर करको दरमा परिवर्तन गराएको सांसद ढकालले आरोप लगाए।
उनले भने, ‘राष्ट्र बैंकमा गभर्नर हटाउने योजनाबाट असफल भएपछि राजीनामा दिनुपर्नेमा त्यसो नगरेर हौसिएर अझै अर्थमन्त्री जनार्दन शमाएले बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएको देखिन्छ।’
उनले विचौलियाहरूको सञ्जाल अर्थमन्त्रीभन्दा माथि हो कि भन्दै प्रश्नसमेत गरेका छन्। जेठ १४ गते रातिको सिसिटिभी फुटेज हेरेर संसदीय छानबिन समिति बनाउन सांसद ढकालले माग गरे।
अहिलेका अर्थमन्त्रीलाई एमालेले स्वीकार नगर्ने भन्दै यस्ता गम्भीर विषयमा छानबिन हुनुपर्ने उनको माग छ। ‘आजको यो कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको कुराको विपक्षमा छौं,’ उनले भने, ‘संसद् बैठक अवरुद्ध गर्न नपरोस् भन्ने हाम्रो अपेक्षा छ। तर हामी हेरेर बस्न सक्दैनौं।’
उनले अर्थमन्त्री ढुक्क भएको र विचौलियाहरुले उनलाई बचाउन लागेकाले एमालेको विरोध रहेको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए। प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बचाउन किन चाहनुभएको छ भन्ने कुरा आफूहरुले जान्न चाहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।