काठमाडौं- नेकपा एमालेबाट पालिका प्रमुख र उपप्रमुख जितेकाहरुलाई अध्यक्ष केपी शर्मा ओलीले चुनाव नभए महासंग्राम जितेको संज्ञा दिएका छन्। राजधानीमा बिहीबार सुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, 'तपाईंहरु यसपल्ट चुनाव मात्रै लड्नुभएन। महासंग्राममा भाग लिनुभएकको हो। लडेर आउनुभएको हो। तपाईं एउटा अधिनायकवाद विरुद्ध लड्नुभएको हो। लोकतन्त्रको नाम जप्ने तानाशाही दमनकारी शासन विरुद्ध लड्नुभएको हो। सत्ताको आडमा सम्पूर्ण प्रतिक्रियावादी शक्ति एक भएर लागेको अवस्थामा, बुथ कब्जा गरिएको, प्रशासनको आडमा पैसा बाँडिएको र मतपेटिका फेरिएको अवस्थामा चुनाव लड्नुभएको हो।'
उनले एमालेको अस्तित्व मेटाउन खोजिएको तर त्यसविरुद्ध जित हासिल गरिएको बताए। आज पनि देशको प्रमुख राजनीतिक शक्ति भएर एमाले आएको उनको भनाइ छ। उनले थपे, 'सिध्याइन्छ भनेको एमाले एकातिर अरु सवै शक्ति अर्कातिर थिए। एउटा महासंग्राम स्थानीय तहको निर्वाचनका रुपमा एउटा महासंग्राम आयो। हामीले लड्यौं।'
उनले स्थानीय तहको निर्वाचनमा कुप्रचार, षड्यन्त्र, जालेझेलका हथककन्डा अपनाइएको आरोप लगाए। यसैगरी अपहरण गर्ने, हत्या गर्ने, कुट्ने, पिट्ने, बुथ कब्जा गर्ने अनेक अपराधिक क्रियाक्लाप र राज्यको कुपरिचालन तथा दुरुपयोग गरिएको उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।