काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले वाम एकताको घोषणा गरेर माफी सप्ताह मनाउने प्रस्ताव अघि सारेका छन्। आगामी निर्वाचनमा बामपन्थी दलहरू एक भएर जानका लागि यो बाटो अवलम्बन गर्न प्रस्ताव गरेका हुन्।
उनले भने, ‘माफी सप्ताह आयोजना गर्ने कुरा सुन्दा हाँस उठ्दो तर भएको कुरा हो। सत्य निरुपण माफी मिनाहावाला हो। अष्ट्रेलियामा सरी डे मनाइन्छ। गोराका पुर्खाले काला पुर्खामाथि गरेको विभेदका लागि हो।’
उनले यसैगरी संसद् विघटन गरेर गल्ती गरेको स्वीकार गर्नुपर्ने बताएका छन्। भविष्यमा चाँडै कार्यक्रम र संगठनात्मक सिद्धान्त तय गर्ने अर्थात् महाधिवेशन गर्ने वाचा गर्ने र वाममोर्चा बनाउँछौं र आगामी चुनावमा जान्छौं भन्ने संकल्प गर्नुपर्ने बताए।
उनले आगामी साउन १ गतेदेखि माफी सप्ताह मनाएर जानुपर्ने बताएका छन्। उनले थपे, ‘हामीले दुनियाँसँग गएर भनौं। तपाईंले जुन माया गर्नुभयो। शहीदले जुन रगत बगाए। जुन विश्वासले भोट दिए, हामीले त्यस विश्वास कायम राखेनौं। इतिहासमा राम्रो पनि गरेका छौं। बाटो पनि बिराएका छौं। आत्मोलचना गर्छौं। लोकतान्त्रिक पार्टी बनाएर जान्छौं। ताण्डव गर्दैनौं।’
यति भन्दा जनताले विश्सास गर्ने उनको भनाइ छ। त्यसका लागि सबै लाग्नुपर्ने नेता भुसालले बताए। अहिले विभाजनबाट लाभ लिनेहरू हावी भएको बताउँदै खबरदारी जरुरी भएको उनको भनाइ छ। उनले भने, ‘विभाजनबाट फाइदा देख्नेहरू ज्यान जाला एकता गर्दैनन्। कुनै हालतमा हुँदैन भन्छन्। ठेगान लगाउँछौं भन्छन्। उनी कहीँ ठोक्न खोज्दैछन् र फाइदा लिन खोज्दैछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।