काठमाडौं- नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले संसद् विघटन गरेर अध्यक्ष केपी शर्मा ओलीले नाकाम गरेको त्यो क्षम्य हुन नसक्ने बताएका छन्। राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनको टिप्पणी छ, 'हाम्रो कुरा मिलेन। गोप्य सम्झौता मिलेन। संसद हानिदियौं। यो क्षम्य हुन्छ? जनवादी केन्द्रीयता प्रयोग गरेर तिमीहरु कोही पनि नबोल भनेर हुन्छ। यो हुने कुरा हो?'
संसद विघटनलाई गौथलीको गुँड भएको घरमा आगो लगाएर घरधनीले मादल ठोक्दै 'के गर्छस् गौथली' भनेर गीत गाएको जस्तो रहेको उनले टिप्पणी गरे।
उनले थपे, 'बच्चाको टाउकोमा लिखा पर्यो। हामीले पेट्रोल हालेर जे-जे नगर्नुपर्ने हो गर्यौं। संसद् विघटन गरेर नाकाम गर्यौं। त्यसपछि पान्डोराको बाकस खुल्दै गयो। के-के निक्लिदै गयो। अहिले अमेरिकी नेशनल गार्ड ल्याउने कांग्रेस राज गर्दैछ। संसदमा पहिलो कम्युनिष्ट, तेस्रो कम्युनिष्ट, पाँचौ सबै कम्युनिष्ट।'
उनले २०१७ सालमा संसद् राजाले विघटन गरेर के भयो? भन्दै प्रश्न गरे। त्यसपछि २०४७ मा फर्केको संसदलाई प्राकृतिक स्रोतसाधनका लागि दुई तिहाइ चाहिने भएपछि भारतले हान्न थालेको बताए।
'महाकाली सन्धीका लागि भारतले हान्न थाल्यो। राजाबाट अधिकार खोसेर संसद्ले लगेको थियो। राजा पनि अस्थिर पार्न लागे। जनयुद्धको तारो पनि संसद् नै भयो। माओवादीले पनि त्यहाँ नहानी पुरानो सत्ता हान्न सक्दैनथ्यो। हामीले त्यो क्रान्ति गरेर ल्याउनेले पनि हान्यौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।