काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनको विधेयक संसद्को चालु अधिवेशनमा पेश गरिने जानकारी दिएका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७९ का शीर्षकमाथि सो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदका प्रश्नको जवाफ दिँदै उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन र सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा लान प्रदेश सरकारका प्रतिनिधिसँग पनि परामर्शपछि प्राप्त सुझावका आधारमा कानुनमा संशोधन गरिने बताए।
मन्त्री कोइारालाले न्याय र कानुनमा आम नागरिकको सरल पहुँच र स्वामित्व निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिँदै हरेक घरमा नेपालको संविधान उपलब्ध गराउन नागरिक एप्समार्फत् सचेतना विस्तार गरिने र मौलिक हकसम्बन्धी कानुन संशोधन वा नयाँ कानुन निर्माण गर्नुपरेमा आफ्नो मन्त्रालयले अतिरिक्त बजेटविना आवश्यक सहजीकरण गरिने बताए। उनले हाल ५० भन्दा बढी विधेयक संसद्मा विचाराधीन रहेको र त्यसलाई छिटो विधेयकमा रुपान्तरण गर्न पहल गर्ने विश्वास व्यक्त गरे।
उनले सत्य निरुपण तथा मेलमिलाप आयोगको कामलाई संविधानको मर्म र अन्तर्राष्ट्रिय अभ्यासअनुसार अघि बढाइने बताए। उनले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा व्यक्तिगत आग्रहका आधारमा नभइ निश्चित निर्देशिका र क्षमताको मूल्याङ्कलनका आधारमा हुनुपर्ने जनाउँदै छूवाछूत हटाउन कानुनको पालनाका साथै सांस्कृतिक रुपान्तरण र सामाजिक शैक्षिक अभियान सञ्चालन गर्नुपर्ने बताए।
मन्त्री कोइरालाले जातीय विभेदविरुद्धका कानुनको पालना र ती कानुनकारे सञ्चारमाध्यम, प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको र निःशुल्क कानुनी सहायत कार्यक्रमलाई गैह्रसरकारी संस्थासँगको पनि सहयोग लिएर प्रभावकारी बनाइने बताए। एक प्रश्नको जवाफमा उनले मन्त्री, सांसद वा जनप्रतिनिधि वा कर्मचारीले दोहोरो सुविधा लिन नमिल्ने कानुनी व्यवस्था भएकाले सोको कार्यान्वयनका लागि सम्बन्धित सबैको भूमिका आवश्यक रहेको जनाउनुभयो। सो मन्त्रालयबारे गत जेठ २३ गते प्रतिनिधिसभाको बैठकमा छलफल भएको थियो।
मन्त्री कोइरालाको जवाफमा थप स्पष्टीकरण माग गर्दै नेकपा (एमाले) सांसद खगराज अधिकारीले सत्य निरुपण तथा मेलमिलाप आयोगको काम किन ढिलाइ भयो? भनी प्रश्न गरे। एमालेकै सांसद कृष्णभक्त पोखरेलले नेपालको संविधानको मुद्रित प्रति नै नेपालका घरघरमा उपलब्ध गराउन माग गरे।
सांसद डा शिवमाया तुम्बाहाङ्फेले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय अदालत र सर्वोच्च अदालतका फैसलालाई पनि ख्याल गर्न आग्रह गरिन्। नेपाली कांग्रेसका सांसद डिला सङ्ग्रौला पन्तले बलात्कृत महिलाले न्याय पाउन अनशन बस्नुपरेकाले छिटो न्याय दिलाउन आग्रह गरिन्। सोही पार्टीका सांसद पुष्पा भुसाल गौतमले बलात्कारका घटना बढ्दो भएका अवस्थामा दोषीलाई कारबाही गराउन कानुनमा कहिले संशोधन हुन्छ भनी जिज्ञाशा राखिन्।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले मिटर ब्याज प्रणाली, ढुकुटीजस्ता कार्यले धेरैको घरबार गुमेको भन्दै यस्तो अवस्थालाई कसरी कानुनी नियन्त्रणमा लिने भनेर खुलाइदिन आग्रह गरेकी थिइन्। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सरकारसँगको एसपिपी सम्झौताबारे स्पष्ट पार्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।