काठमाडौं– कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले गाँजा सम्बन्धी कानुन र बलात्कारको हदम्याद हटाउने विषयमा नेपाल कानुन आयोगले अध्ययन गरिरहेको बताएका छन्।
आयोगले अध्ययनपछि दिने प्रतिवेदनका आधारमा कानुन तयार हुने उनले जानकारी दिए। बुधबार प्रतिनिधि सभामा बजटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताएका हुन्।
उनले गाँजा खुला गर्ने कि नगर्ने र अन्तर्राष्ट्रिय अभ्यास तथा यसलाई खुलाउनैपर्ने वा नपर्ने कारणसहित प्रतिवेदन आएपछि यस सम्बन्धी विधेयक पेस हुने उनले सदनमा जानकारी गराए।
यस्तै मन्त्री शर्माले बलात्कारको हदम्याद हटाउनुपर्ने माग भइरहेकाले अहिले कानुन आयोगमार्फत् अध्ययन भइरहेको र आयोगले अध्ययनपछि दिएको प्रतिवेदनअनुसार विधेयकको मस्यौदा तयार हुने बताए।
मुलुकी ऐनमा १ वर्ष हदम्याद भएकाले अब यसलाई के गर्ने भन्ने कुरा अध्ययनपछि मात्र निष्कर्षमा पुग्नुपर्ने भएकाले अनुसन्धान भइरहेको उनको भनाइ छ।
त्यस्तै उनले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन आयोगको ऐन संशोधन पनि अघि बढ्ने बताए।
उनले सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानुन अनुसार यो ऐन बनाएर संक्रमणकालीन न्याय टुङ्गोमा पुग्ने उनले दाबी गरे। उनले परिपुरणका लागि रकम बजेटले छुट्याएको जानकारी पनि सदनमा गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।