काठमाडौं– नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले अमेरिकासँग गर्ने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता राष्ट्रघाती भएको बताएको छ।
हालै नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका अधिकारीले नेपालसामु प्रस्ताव गरेको एसपीपी नेपालको सार्वभौमसत्ता, असंलग्न परराष्ट्र निति, पञ्चशीलको सिद्धान्त लगायत नेपालको परराष्ट्र नितिको विरुद्ध रहेको अखिलको भनाइ छ।
अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै एसपीपी नेपालका लागि घातक हुने बताएका छन्।
'अमेरिकी सेनाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिँदै नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोज्ने वैदेशिक हस्तक्षेपको अनेरास्ववियू घोर निन्दा र भर्त्सना गर्दछ', विज्ञप्तिमा भनिएको छ, 'स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)ले नेपालको स्वतन्त्र परराष्ट्र नीति उलंघनका साथै नेपालको अस्तित्वमाथि नै धावा बोलेको रुपमा अनेरास्ववियूले बुझेको छ। स्मरण रहोस् हाम्रो मुलुक आजसम्म कसैको उपनिवेश बनेको छैन।'
नेपाललाई विश्वपुँजिवादको अहंकारमा विदेशी सेनाको परेड खेल्ने रणभूमिको रुपमा प्रयोग गर्न खोजे आन्दोलनको सुनामी श्रृजना गर्ने अनेरास्ववियूको चेतावनी छ।
'राष्ट्रघाती १० बुँदे स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदामा हस्ताक्षर नगर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दै वैदेशिक हस्तक्षेपको कडा प्रतिवाद गर्न अनेरास्ववियू सम्पूर्ण राजनितिक दल, नागरिक समाज, पत्रकार, युवा विद्यार्थी, बुद्धिजीवी लगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।