काठमाडौं– आउँदो प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले आज बुधबारदेखि मतदाता नामावली संकलन सुरु गर्दै छ।
बुधबारदेखि मतदाता नामावली संकलन सुरु हुने भन्दै निर्वाचन आयोगले योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा मतदाता नामावली संकलन कार्य सुरु हुने जानकारी दिए। अब केही समयभित्र निर्वाचनको मिति घोषणा हुने भएकाले आयोग तयारीमा जुटेको हो।
पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले आफ्नो स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्नसक्ने आयोगका प्रवक्ता पौडेलले बताए ।
स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोग र सरकारबीच परामर्श भइरहेको बताए।
कात्तिक अन्तिम साता या मंसिर पहिलो साताभित्र निर्वाचन गर्ने तयारी छ। निर्वाचन घोषणा नहुन्जेलसम्म मतदाता नामावाली संकलनको काम जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।