काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी गठनको छोटो अवधिमा प्राप्त गरेको पाठलाई ठीक ढंगले पढ्नुपर्ने बताएका छन्।
मंगलबार नेकपा एकीकृत समाजवादीको स्थानीय कमिटी बैठकमा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘हामी भर्खर–भर्खर बन्दै गरेको पार्टी हौं। नयाँ क्रान्त्किारी पार्टी हौं। यसकारणले यो पार्टीले छोटो अवधिमा प्राप्त गरेको पाठ हो भन्ने लाग्छ। यसलाई ठिक ढंगले पढ्न सक्यौं भने यसबाट प्राप्त भएका उपलब्धी के हुन् र कमजोरी के हुन्, हाम्रा आफ्नै कमजोरी के हुन्, गहन ढंगले विश्लेषण गर्न सक्नुपर्छ।’
उनले स्थानीय तहको निर्वाचनले देशको राजनीतिक परिस्थितिमा परिवर्तन ल्याइदिएको बताए। ‘सबैजसो राजनीतिक पार्टीहरूको हैसियतमा पनि परिवर्तन ल्याइदिएको छ। देशको राजनीतिक सन्तुलनमा पनि त्यसले परिवर्तन ल्याउन सुरु गरेको छ। यसले धेरै खालका संकेतहरू गरेको छ। त्यसैले हामीले गहिरो गरी अध्ययन गर्न जरुरी छ। विश्लेषण र संश्लेषण गर्नुपर्ने आवश्यकता छ’, उनले भने।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रतिवेदन पेस गरेका छन्। सो प्रतिवेदनले आफूहरूलाई अध्ययन गर्ने सामग्री उपलब्ध गराएको खनालको भनाइ छ। तर, केन्द्रीय कमिटीमा पनि निर्वाचनका बारेमा पनि सघन छलफल गर्नुपर्ने आवश्यकता रहेको खनालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।