काठमाडौं– नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि आपत्ति व्यक्त गरेको छ। बैठकको सुरुमै बोलेका एमाले सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अपराध गरेको बताए।
'करको विषय निकै गोपनीय विषय हो। राष्ट्रिय सुरक्षा जस्तै विषय हो। राष्ट्रिय स्वार्थको विषय हो। यस्ता गोपनीयता बाहिर सार्वजनिक गर्ने, साँठगाँठ र मिलेमतो गर्नेजस्ता कुराहरु गम्भीर अपराध मानिन्छ। यसबारेमा छानबिन हुनुपर्छ। र संसद्ले यसबारेमा कदम चाल्नुपर्छ। यसको जवाफ चाहन्छौँ। मन्त्रीले नैतिक रुपले त्यो पदमा बस्न मिल्दैन भन्ने लाग्छ', उनले भने।
त्यसअघि उनले आफूमाथि गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न सक्षम हुनुहुन्छ? लायक हुनुहुन्छ? भन्दै प्रश्न सोधेका थिए। उनले संसद्लाई जवाफ चाहिने बताए। 'यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेही लिनुपर्छ कि पर्दैन। केवल अर्थमन्त्रीको विषय हो कि के हो? यसको जानकारी संसद्लाई चाहिन्छ', उनले भने।
एमालेको तर्फबाट सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले पनि अर्थमन्त्रीले राष्ट्रघात गरेको बताएका थिए। पाण्डेले भट्टराईलाई जोड्दै भने- 'हामीले कुरा उठाएपछि अर्थमन्त्रीले संसद्लाई स्पष्ट पार्नुभएन। यो निकै आपत्तिजनक कुरा हो।'
पाण्डेले बजेट संसद्मा प्रस्तुत गर्ने अघिल्लो दिन अर्थमन्त्रीबाहेक अरुलाई टेलिफोनको अधिकार समेत नदिइने र कर्मचारीको फोन समेत लक गरेर राखिने भन्दै अनधिकृत व्यक्तिको प्रवेशप्रति आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।