काठमाडौं- नेकपा एमालेको सचिवालय बैठकमा अनुशासन आयोगले पार्टी स्थायी कमिटी सदस्य घनश्याम भूसालमाथि कारबाही गर्ने विषयले प्रवेश पाएन। तर, घुमाउरो रुपमा त्यस्ता अभिव्यक्तिलाई निरुत्साहित गर्नेमा भने छलफल भएको छ।
सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको प्रतिष्ठा कमजोर पार्ने र मूल नेतृत्वप्रति अनास्था सिर्जना हुने अभिव्यक्ति र गतिविधि गर्न नहुने विषयमा छलफल भएको बताए।
उनले भने, 'नेकपा एमालेका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टीको प्रतिष्ठा कमजोर गर्ने, विजयमाथि शंका उत्पन्न हुने र मूल नेतृत्वमाथि अनास्था पैदा हुने अभिव्यक्ति दिने र गतिविधि गर्नुहुँदैन। यस विषयमा पनि सचिवालयले समीक्षा गरेको छ।'
नेकपा एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीमाथि टिप्पणी गरेको भन्दै केही दिनअघि एमाले अनुशासन आयोगले नेता भूसाललाई कारबाहीको सिफारिस गरेको थियो। तर, सचिवालय बैठकमा उक्त विषयलाई औपचारिक अजेन्डा बनाइएन भने नेता भूसालको नाम लिएर छलफलसमेत भएन। त्यतातिर संकेत गर्दै छलफल भने चलाइएको ज्ञवालीको भनाइले संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।