गोरखा-गोरखा जिल्ला समन्वय समितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मोहनबहादुर थापा निर्विरोध चयन भएका छन्। एकल उम्मेदवारी परेपछि माओवादी केन्द्रका प्रमुख, उपप्रमुखसहित नौ सदस्य निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले जानकारी दिए।
समन्वय समितिको उपप्रमुखमा लिला परियार निर्वाचित भएकी छन्। उनी सहिद लखन गाउँपालिका–९ बाट वडा सदस्यमा विजयी भएकी थिइन्। प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा निर्वाचित भएका थिए। समन्वय समिति सदस्यमा मोहन ढकाल, मोहम्मद हकिम, शिवप्रसाद रेग्मी, इन्दिरा देवकोटा, प्रमिना घले, मीरा उपरकोटी र गङ्गाबहादुर वयलकोटी निर्विरोध चयन भएका छन्। समन्वय समितिमा कूल २२ मतदाता थिए।
जिल्लाका ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ पालिकामा प्रमुख र ६ पालिकामा उपप्रमुख जितेको थियो । कांग्रेसले दुई पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको थियो । प्रमुख, उपप्रमुखसहित सबै सदस्यले साेमबार नै पद तथा गोपनीयताको सपथ लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।