काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पार्टीका पदाधिकारी चयन गर्ने संकेत गरेका छन्।
पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रीय समितिको बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको बताए।
सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले पदाधिकारी नियुक्ति कहिले हुन्छ ? भनेर गरेको प्रश्नको जवाफ दिँदै गुरुङले आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने बताए।
'पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय समितिको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ। अब असारको १५ गते केन्द्रीय समितिको बैठक बस्ने भनेर भनिएको छ,' गुरुङले भने, 'सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ।'
आफ्नो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटवार्तालाई फरक रुपमा अर्थ्याउन जरुरी नरहेको गुरुङको भनाइ छ।
'एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं,' गुरुङले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।