काठमाडौं– नेकपा एमालेका १५ जना सांसदले राखेको मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पारित भएको छ।
सोमबारको बैठकमा एमालेका सांसद्हरुले रासायनिक मलको अभावका सन्दर्भमा छलफल गर्न बैठकको कार्यसूची स्थगन गर्न प्रस्ताव दर्ता गराएका थिए। छलफलपछि सहजरुपमा मल उपलब्ध गराउन सम्भाव्य उपाय अवलम्बन गर्न निर्देशन दिने प्रस्ताव पारित भएको हो।
छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले विषेश प्रस्ताव सभाको सहमतिका लागि प्रस्तुत गरेका थिए। जसलाई सभाले पारित गरेको हो।
'रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको छ। कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ', पारित प्रस्तावमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।