काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन विवादमा सर्वोच्च अदालतमा बहस सकिएको छ। नेकपा एमालेका तर्फबाट निवेदकले मागेको अन्तरिम आदेश जारी नहुने सम्भावना बढेको छ। न्यायाधीश हरि फुयाँलको एकल इजलाशले संयुक्त इजलाशमा पठाउने तयारी गरेको हो।
बहसका क्रममा न्यायाधीश फुयाँले एकल इजलास भन्दा संयुक्तमा लगेर न्याय निरुपण गर्दा के हुन्छ? भनेर निवेदक र सरकारी वकिललाई सोधेका थिए। सरकारी वकिलले सहमति जनाएका छन् भने निवेदकले भने अन्तरिम आदेश जारी हुनुपर्ने बताएका छन्।
सुनुवाइको मिति तोकेर संयुक्त इजलाशबाट उक्त मुद्दाको फैसला गर्नेगरी आदेश आउने संकेत बहसका क्रममा देखिएको हो।
उक्त नगरपालिकाको मतदानका क्रममा विवाद भएपछि नेपाली कांग्रेसले पुन: मतदानको माग गरेको छ भने नेकपा एमालेले मतगणना हुनुपर्ने माग गरेको छ। निर्वाचन आयोगले बहुमतबाट पुन: मतदानको निर्णय गरिसकेको छ। एमालेले स्थलगत अध्ययन प्रतिवेदनअनुरुप निर्णय नभएको भन्दै सर्वोच्च गुहारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।