काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन्।
प्रचण्डको सचिवालयका एक सदस्यका अनुसार आइतबार निजी निवास खुमलटारमा बोलाएर बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको विषयले पार्टीलाई अप्ठ्यारोमा पार्ने भन्दै उक्त सुझाव दिएका हुन्।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे प्रचण्डले अर्थ मन्त्री शर्मासँग प्रश्न गरेका थिए। सचिवालय स्रोतकाअनुसार प्रचण्डको प्रश्न थियो, 'सुन्नमा आएजस्तै बजेट निर्माणमा बाहिरको कुनै व्यक्तिलाई प्रवेश दिइएको हो?'
जवाफमा उनले ठूलो गल्ती नभइ सामान्य भुलचुक भएको हुनसक्ने गोलमटोल उत्तर दिएका थिए। उक्त विषयमा गठबन्धनका नेताहरु र आफ्नै पार्टी केही नेताहरुबाट आफूले सुनेको प्रचण्डले बताएका थिए। निरन्तर विवादमा रहँदा पार्टी र आफूलाई अप्ठ्यारो पर्ने भन्दै सहज वातावरण बनाउन प्रचण्डले शर्मालाई सुझाएका थिए।
'अस्ति (गभर्नर बर्खास्त प्रकरणमा) पनि गठबन्धन र पार्टीकै नेताहरुले निकै दबाब दिएका थिए। फेरि उस्तै विवादित काम भयो। मैले गठबन्धनमा जवाफ दिनुपर्छ। पार्टीका नेताहरुको गुनासो पनि सम्बोधन गर्नुपर्छ। तपाईंले बाटो सहज बनाइदिनुपर्छ,' प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई अर्थमन्त्री शर्माले बजेटमा करका दरहरु हेरफेर गर्न संलग्न गराएको गुनासो प्रचण्डकहाँ केही दिनअघि नै पुगेको थियो। माओवादी केन्द्रका अन्य नेताकहाँ समेत मन्त्रालयका कर्मचारीले उक्त सूचना पुर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।