भरतपुर– जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन्। उपप्रमुखमा गठबन्धनबाट सापकोटाको उम्मेदवारी पर्दा अरु कसैको उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित भएकी हुन्।
चितवनको जिससमा प्रमुख र उपप्रमुख र सदस्यसहित १६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा भएको मनोनयन दर्ता कार्यक्रममा १६ जनाको उम्मेदवारी परेको हो।
जिससको प्रमुखमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेबाट नारायण प्रसाद अधिकारीको उम्मेदवारी परेको छ।
यस्तै, ३ जना खुला सदस्यहरुमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अर्जुन भण्डारी, धर्मलाल देवकोटा, नेपाली कांग्रेसका संजीव पौडेलको उम्मेदवारी परेको छ। एमालेबाट कृष्णभक्त भट्टराई, बाबुराम सुवेदी र लक्ष्मीनारायण चौलागाईको उम्मेदवारी परेको छ।
त्यसैगरि तीन जना महिला सदस्यका लागि गठबन्धनबाट कांग्रेसकी अनिता चौधरी, नेकपा (एकीकृत समाजवादी) की पूजना गुरुङ, माओवादीकी सुमित्रा तामाङ श्रेष्ठको उम्मेदवारी परेको छ। एमालेबाट अनिता नेपाल र सविता चौधरीको उम्मेदवारी परेको छ।
एक जना दलित वा अल्पसंख्यक सदस्यका लागि कांग्रेसबाट केशरी माया सुनार र गुनु विकले उम्मेदवारी दिएका छन्। सोमबार नै उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ भने मनोनयनपत्र जाँच र उजुरी उपर निर्णय गर्ने कार्यतालिका छ।
नेतृत्वका लागि जेठ ३१ गते मंगलबार मतदान हुनेछ ।
मतदानमा ७ पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले भाग लिनेछन् । गठबन्धनमा आवद्ध दल र नेकपा (एमाले) को समान ७/७ भोट रहेको छ। निर्वाचनमा सबै उम्मेदवारको मत बराबर भएमा गोलाप्रथाबाट चयन गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।