काठमाडौं– रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रतिनिधि सभा बैठकको जारी कार्यसूची स्थगन गर्ने नेकपा एमालेका सांसदहरुको प्रस्ताव प्रतिनिधि सभा बैठकमा प्रस्तुत भएको छ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सोमबार प्रतिनिधि सभाको बैठकमा बैठकको चालु कार्यसूची स्थगन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
संसद् सचिवालयमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत १५ सांसदले प्रस्ताव दर्ता गराएका थिए।
प्रस्तावमा हस्ताक्षर गर्ने अन्य सांसदहरुमा कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, कृष्ण गोपाल श्रेष्ठ, नारायणप्रसाद खतिवडा, झपटकुमार रावल, गंगा चौधरी, रेखा कुमारी, नारायण प्रसाद मरासिनी, पवित्रा निरौला खरेल, विमला विश्वकर्मा, सरिता गिरी, नवराज सिलवाल र घनश्याम खतिवडा छन्।
सरकार मल ल्याउन पूर्ण रुपमा असफल भएको उनीहरुको निष्कर्ष छ। 'यस्तो अवस्थामा हामी जनताका प्रतिनिधिहरु टुलुटुलु हेरेर अन्य विषयमा छलफल गर्दै किसानको समस्याप्रति मुकदर्शक हुने अवस्था हुँदैन', प्रस्तावमा भनिएको छ, 'तसर्थ प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ बमोजिम प्रतिनिधि सभाको बैठकको कार्यक्रम स्थगन गरी रासायनिक मल झिकाई कृषकलाई तत्काल उपलब्ध गराउने विषयमा छलफल गर्ने व्यवस्था मिलाउन यो स्थगन प्रस्तावको सूचना दिएका छौँ', प्रस्तावमा भनिएको छ।
सोमबारको प्रतिनिधि सभा बिहान ११ बजेका लागि तोकिएको छ। कार्यसूचीको पहिलो नम्बरको यही स्थगन प्रस्ताव प्रस्तुत गर्ने विषय रहेको छ। भट्टराईले प्रस्तुत गर्नेछन्।
प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ मा 'अत्यन्त जरूरी सार्वजनिक महत्वको कुनै विषयमाथि छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस् भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेस गर्न सकिनेछ' भन्ने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।