काठमाडौं– महन्थ ठाकुर नेतृत्वमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन्। महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा र लक्ष्मणलाल कर्णलगायतका नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
उनीहरू ९ बजे बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार लोसपा नेताहरूसँग पछिल्ला दिनमा लगातार छलफल भइरहेको छ। उनीहरुले गत मंगलबार पनि प्रधानमन्त्रीलाई भेटेर ११ बुँदे मागपत्र बुझाएका थिए।
उनीहरुले नागरिकता विधेयक, संविधान संशोधन, थुनामा रहेका रेशम चौधरीको रिहाई, थारुहट/मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग अघि सार्दै आएका छन्। प्रधानमन्त्री देउवाले उनीहरुलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्।
प्रधानमन्त्रीको तर्फबाट दुई मन्त्रालय र उपसभामुखको प्रस्ताव लोसपालाई गरिएको थियो। लोसपा नेताहरुले सरकारमा सहभागी हुनका लागि वातावरण बनाउन देउवालाई आग्रह गरेका थिए। उनीहरूको आग्रह अनुसार नै प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउने र मधेश आन्दोलनका मुद्दा फिर्ता लिने प्रक्रिया पनि सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।