काठमाडौं– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई सांसद गंगा चौधरीले 'लिपस्टिक लगाएर सुन्दरी' बन्ने भन्दै टिप्पणी गरेकी छिन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको विषयगत छलफलमा भाग लिने क्रममा उनी व्यक्तिगत टिप्पणीमा उत्रिएकी हुन्।
उनले भनिन्, 'सहरी मन्त्रीको कुरा थोरै जोड्छु। ओठमा लिपस्टिक लगाएर जति सुन्दरी बन्न चाहनुहुन्छ, त्योभन्दा धेरै स्मार्ट सिटी बनाउने दायित्व तपाईंसँग छ। आज काठमाडौं शहरमा दुर्गन्ध फैलिएको छ। तपाईंलाई त्यति पनि ज्ञान छैन भने घोराही उपमहानगरपालिकामा गएर हेर्नुहोस्। २० करोडको लगानीमा फोहरबाट वैकल्पिक ऊर्जा निकालिएको छ। काठमाडौंमा ४० करोड लाग्ला।'
कागजको खोस्टोमा लेखेर सुन्दर शहर नबन्ने बताउँदै उनले आफू जस्तै सुन्दर सहर बनाउने दायित्व रहेको जिम्मेवार बोध गर्न मन्त्री झाँक्रीको ध्यानाकर्षण गराइन्।
सांसद चौधरीको टिप्पणी मन्त्रीलक्षित नभइ व्यक्तिगत भएको भन्दै सांसद निरादेवी जैरुले नियमापत्ति जनाएकी थिइन्। उनले देशकै सर्वप्रतिष्ठित स्थानमा रहेर संसदको गरिमाभन्दा बाहिर गएर चौधरीले बोलेको भन्दै नियमापत्ति जनाएकी हुन्।
जैरुले भनिन्, 'मन्त्रीलाई होइन, व्यक्तिगत रुपमा टिप्पणी भएको छ। त्यो रेकर्डबाट हटाइयोस्। आगामी दिनमा व्यक्तिगत टिप्पणी नगरियोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।