सिन्धुपाल्चोक– जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको प्रमुख पदमा नेपाली कांग्रेसका बालकृष्ण श्रेष्ठ १३ मतसहित विजयी भएका छन्। यस्तै उपप्रुमखमा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल निर्वाचित भएका छन्। उपप्रमुखमा नेपालले पनि १३ मत पाएका छन्। एमाले–माओवादी गठबन्धनबाट प्रमुखमा उम्मेदवार बनेका माओवादीका गणेश विकले जम्मा १० मत पाए।
जबकी एमाले र माओवादीको मत ११ रहेको थियो। त्यसमा पनि एमालेले माओवादीका उम्मेदवारलाई एक मत नदिएको पाइएको छ। यस्तै एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेका जेपी सिलवालले पनि ११ मत मात्रै पाए।
एमाले र माओवादीले गठबन्धन गरेपछि एक मत रहेको समाजवादीले कांग्रेसँग गठबन्धन रहेको छ। कांग्रेसको १२ मत थियो भने, समाजवादीको एक मत मात्रै थियो। कांग्रेससँग समाजवादीले उपप्रमुखसहित एक सदस्य मागेको थियो।
सिन्धुपाल्चोकमा कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख जितेको छ भने ७ मा उपप्रमुख जितेको छ। यस्तै नेकपा एमालेले तीन तहमा प्रमुख र चार तहमा उपप्रमुख जितेको छ। यता माओवादीले चार स्थानीय तहमा प्रमुख र समाजवादीले एक स्थानीय तहमा उपप्रमुख जितेको छ।
कांग्रेस एक्लैको १२ मत र एमाले, माओवादी र समाजवादीको जोड्दा पनि १२ मत हुने भएकाले समाजवादी कांग्रेससँग मिल्न पुगेको हो। समाजवादीको एक मत जोड्दा जित निश्चित हुने भएपछि कांग्रेससँग उपप्रमुखसहित एक सदस्य मागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।