काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीको ठिक ढंगले सम्मान गर्न नसकेको बताएका छन्।
शनिबार काठमाडौं महानगरपालिका–१५ मा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले भने, ‘गठबन्धनले हामीलाई ठिक ढंगले न मूल्यांकन गर्न सक्यो, न सम्मान गर्न सक्यो, न त्यसबाट हामीलाई धेरै फाइदा नै भयो।’
उनले एकीकृत समाजवादी एक्लै उभिएको ठाउँमा सफलता प्राप्त भएको बताए। उनले भने, ‘जहाँ–जहाँ हामी आफैं उभियौं। स्वतन्त्रतापूर्वक उभियौं। आफ्ना विचार, नीति र सिद्धान्त लिएर उभियौं। त्यो ठाउँमा राम्रो विजय प्राप्त गर्यौं।’
उनले आफूहरूले विद्रोहबाट नयाँ पार्टी निर्माण गरेको बताए। नयाँ पार्टी गठन गरेको आठ महिना पनि नपुगेको अवस्थामा पनि आफूहरूले पार्टीलाई राष्ट्रव्यापी रुपमा विस्तार र विकास गरेको उनको भनाइ छ। पार्टीलाई क्रमशः सुदृढ गर्दै गरेको उनले दाबी गरे।
‘तर यही बेलामा हामीले स्थानीय निर्वाचनको सामना गर्नुपर्यो। हामी राम्रोसँग तयार भइसकेकै थिएनौं,’ उनले भने, ‘तर यसरी आएको निर्वाचनमा हामीले देशव्यापी रुपमा गठबन्धन बनाएर सामना गर्ने प्रयत्न त गर्यौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।