गिरिराजमणि पोखरेल (फाइल तस्बिर)
काठमाडौं– सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका नेता तथा सांसद गिरिराजमणि पोखरेलले 'एक चीन' नीतिका सन्दर्भमा सरकारले सदन सदनसमक्ष प्रष्ट पार्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता पोखरेलले सरकारको पछिल्लो गतिविधिका कारण नेपालको 'एक चीन' नीतिका सन्दर्भमा प्रश्न उठिरहेको बताए।
अमेरिकी उप-सहायक विदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थीलाई भेटेको र प्रधानमन्त्री शेरबहादुर देउवाले ताइवान सहभागी एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएको विषयले नेपालको एक चीन नीतिमाथि प्रश्न उठेकोले सरकारले संसदमा आएर प्रष्ट पार्नुपर्ने पोखरेलको भनाइ छ।
‘अमेरीकी उप-साहयक विदेशमन्त्री उज्रा जियाले तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेको, सम्बोधन गरेको र तिब्बती शरणार्थीलाई चीनविरुद्ध उकासेको कुरा संचारमाध्यमा आएका छन्। प्रहरीले स्कटिङ गरेको विषयमा सरकारलाई जानकारी छैन भन्न सकिन्न,’ पोखरेलले भने।
त्यस्तै, ताइवानको समेत प्रतिनिधित्व रहेको एक कमर्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएकोमा नेपालको एक चीन नीतिको प्रतिवद्धतामा आशंका उत्पन्न भएको पोखरेलको भनाइ छ।
‘ताइवान सहभागी एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुभएको थियो। उक्त विषय विरोधाभाषपूर्ण रहेका छ। नेपालले ताइवानलाई स्वतन्त्र राज्यको रुपमा मानेको छैन। यी घटनाले नेपालको एक चीन नीतिमाथी प्रश्न खडा गरेको छ,’ पोखरेलले भने, ‘नेपाल एक चीन नीतिबाट बाहिर जान खोजेको त हैन? भन्ने आशंका रहेको छ। सरकारले यो सदनमा स्पष्ट पारोस् भन्ने आग्रह रहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।