काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छाडेर जानेहरुलाई पार्टीमा स्वागत गर्न आतुर नरहेको संकेत गरेका छन्। विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै कार्यकर्तालाई फर्किन बन्देज नभएको, नेतालाई पार्टीमा 'स्वागत' नगर्ने तर उनीहरु आउन भने सक्ने बताए।
उनले फुट्ने बेलामा आफूलाई नसोधेको बताउँदै आउने बेलामा पनि 'स्वागत गर्ने' प्रचलन एमालेमा नरहेको बताए।
उनले अहिले नै एकीकृत समाजवादीसँग सहकार्य समेत हुने नसक्ने संकेत गरे। आफूहरु आफ्नै काममा भएकाले त्यतातिर सोच्न फुर्सद नभएको बताए।
उनले भने, 'कार्यकर्ताहरुलाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं। अरु आउनेहरुलाई स्वागत भन्ने शब्द बढ्तै हुन्छ कि। पार्टीमा आउन सक्नुहुन्छ।
पत्रकारहरुले 'स्वागत चाहिँ गर्नुहुन्न?' भनेर गरेको प्रतिप्रश्नमा उनले ' …स्वागत भनेको के? गेट बनाउनु भनेको? त्यस्तो चलन छैन नि हाम्रो' भन्दै टारिदिए।
ओलीले आफूले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव पनि नगरेको बताए। 'तपाईंहरुले अफर गरेको' भन्ने प्रश्नमा उनले 'हामीले त गर्या छैन' भन्दै इन्कार गरेका हुन्।
उनले स्थानीय तहको चुनाव र राष्ट्रिय चुनाव बेग्लै भएको बताउँदै भोटमा अहिले पनि एमाले अघि रहेको दाबी गरे।
'स्थानीय चुनावको कुरा बेग्लै हो। यसले नै सबै निर्वाचनको परिणाम तय गर्छ भन्ने छैन। स्थानीय तहको परिणाममा सिट संख्याको हिसाबले दोस्रो भयौं। ६ दल मिले। कुनै राजनीतिक सिद्धान्तविना प्रतिक्रियावादी गठबन्धनको एउटै मात्र उद्देश्य भनेको देशभक्त, लोकतान्त्रिक विकासमुखी पार्टी नेकपा एमालेलाई जसरी पनि हराउनुपर्छ भन्ने थियो,' उनले भने, 'धेरै स्थानमा जित्ने कुरामा अलिकति पछाडि पर्यौंस होला, तर हाराहारीको स्थितिमा छ। पपुलर भोटमा फेरि पनि अगाडि छौं। एमाले एमाले नै हो।'
अब आउने निर्वाचनमा नेपाली जनताले एमालेलाई अत्यधिक मतका साथ जिताउने पनि उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।