काठमाडौं- चारदिने औपचारिक सद्भावना भ्रमणका लागि नेपाल आएका अमेरिकी सेनाका एशिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन शुक्रबार उच्चस्तरिय भेटघाटमा व्यस्त हुने भएका छन्।
बिहीबार नेपाल आएका फ्लिनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधामनन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गर्न लागेका हुन्।
सैनिक मुख्यालय जंगी अड्डामा उनको सम्मानमा नेपाली सेनाले शुक्रबार 'गार्ड अफ अर्नर' प्रदान गर्ने कार्यक्रम रहेको छ। फ्लिनले त्यस लगत्तै प्रधानसेनापति शर्मासँग भेटवार्ता गर्ने छन्। प्रधानसेनापति शर्माले चाल्सको सम्मानमा आज रात्रिभोजको समेत आयोजना गर्दै छन्।
प्रधानसेनापतिसँगको भेटवार्तापछि उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
फ्लिनले शुक्रबारै दिउँसो साढे २ बजे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। त्यस लगत्तै उनले प्रधामन्त्री देउवासँग अपराह्न तीन बजे भेटवार्ता गर्ने तय भएको छ।
फ्लिन शनिबार सगरमाथाको आधार शिविर पुग्ने कार्यक्रम छ। त्यस्तै आइतबार बिहान उनी काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति सैनिक तालिम केन्द्र जानेछन्। त्यहाँ तालिम केन्द्रबारे उनलाई ब्रिफिङ गरिनेछ। त्यसपछि उनी शिवपुरी पुग्ने छन्। शिवपुरीमा उनले नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा रहेका विद्यार्थीलाई सम्बोधन गर्ने छन्।
उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।