काठमाडौं– जिल्ला समन्वय समिति दैलेखको प्रमुमा सत्तारुढ गठबन्धनका उम्मेदवार पराजित भएका छन्। समन्वय समिति प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही निर्वाचित भएका छन्।
शाहीले १३ मत ल्याएका छन्। खरायो चिन्हबाट निर्वाचन लडेका शाही नेकपा एमालेले सघाउँदा समन्वय समिति प्रमुखमा निर्वाचित भएका हुन्। एमालेसँग १० मत रहेको थियो। यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठले ९ मत ल्याएकी छन्।
समन्वय समिति प्रमुखमा निर्वाचित शाही नेपाली कांग्रेसका जिल्ला उपसभापतिसमेत हुन्। यस्तै समन्वय समितिको उपप्रमुखमा नेकपा एमालेका केशवबहादुर शाही निर्वाचित भएका छन्। उनले ११ मत ल्याएका हुन्।
गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले भने १० मत पाएको मुख्य निर्वाचित अधिकृत दण्डपाणि लामिछानेले जानकारी दिए। समन्वय समिति प्रमुखमा निर्वाचित शाहीले आठबिसकोट नगरपालिका–७ बाट वडाध्यक्षमा लड्ने तयारी गरेका थिए। तर, पार्टीले टिकट नदिएपछि उनी वडासदस्यमा उठे र निर्वाचन पनि जिते।
यस्तै, समन्वय समिति प्रमुख र एक सदस्यमा स्वतन्त्र उम्मेदवारी परेपछि विवादित बनेको थियो। प्रमुख पदमा शाहीले कांग्रेसबाट गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएपछि विवादित बनेको थियो।
कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध परेको उम्मेदवारी खारेजको माग गरेको थियो। तर, निर्वाचिन कार्यालयले स्वतन्त्र उम्मेदवारीलाई नै कायम गरी निर्वाचन गराएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।