काठमाडौं– प्रदेश १ सरकारले आफ्नो नीति तथा कार्यक्रममा उद्योग, शिक्षा, पर्यटन र रोजगारीका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ।
प्रदेश १ले उद्योग तथा वाणिज्य प्रशासन सम्बन्धी सेवालाई अनलाइन प्रणालीमा जोड्ने भएको छ। उद्योगमा लगानी भित्र्याउन बृहत लगानी सम्मेलन गर्ने कार्यक्रम राखेको छ।
त्यस्तै ‘हाम्रो उत्पादन हाम्रो संस्कृति’ अभियान मार्फत स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगका विकास गरिने नीति अख्तियार गर्ने भएको छ।
रोजगारीको सवालमा प्रदेश १ले घरेलु मदिरा ब्राण्डिङ गरेर रोजगारी सृजना गर्ने नीति लिएको छ। प्रदेश १मा घरेलु मदिरा ब्राण्डिङ गर्ने र बजारीकरण गर्ने विषयमा पटक–पटक बहस हुने गरेको छ।
त्यस्तै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ‘माइग्रेशन रिसोर्स सेन्टर’ को भूमिकालाई प्रभावकारी बनाउने नीति राखेको छ। प्रदेश सरकारले जनशक्तिलाई आवश्यक सामग्री सहित रोजगारीमा आवद्ध गर्नेगरी प्रदेश नमुना स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम राखेको छ।
पर्यटनलाई विस्तार र प्रवर्द्धन गर्न प्रदेश १ले पदमार्गमा आधारित पर्यटन विकास परीयोजनालाई उच्च प्राथमकितायुक्त प्रादेशिक आयोजनाको रूपमा अघि बढाउने भएको छ। साथै निर्माणधीन मन्धुम पदमार्गको बाँकी निर्माण कार्य प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने भएको छ।
ऐतिहासिक एवम् पुरातात्विक महत्वका गढी, थुम, किल्ला र मन्धुमी स्थलहरूको संरक्षण र संवद्र्धन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने कार्यक्रमहरू समावेश गरेको छ। किराँत संस्कृतीसँग जोडिएको सप्तकोशी नदीमा अवस्थित खवालुङ्गको संरक्षण तथा प्रवर्द्धन गर्ने भएको छ। खवालुङ्ग राष्ट्रिय रूपमा चर्चा पाएको विषय हो। जसलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ।
शिक्षामा प्रदेश सरकारले, मुख्यतः सामुदायिक विद्यालयलको गुणस्तर सुधारमा जोड दिएको छ। जसका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि विद्यालय व्यवस्थापन तथा सञ्चालन सम्बन्धी विशिष्टिकृत तालिम सञ्चालन गरी क्षमता अभिवृद्धि गरिनेछ।
विद्यालय तहमा विज्ञान तथा गणित शिक्षकहरूका लागि प्रयोगात्मक शिक्षण तालीम सञ्चालन गर्न प्रत्येक जिल्लामा एक–एक वटा विज्ञान तथा गणित प्रविधि प्रयोगशाला स्थापना गर्ने कार्यक्रम तय गरेको छ।
त्यस्तै स्वास्थ्य शिक्षामा लगानी बढाएर चिकित्सा क्षेत्रमा उच्च तहको जनशक्ति उत्पादन गर्ने प्रदेशका रूपमा विकसित गर्ने लक्ष्य राखेको छ। जसका लागि स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठान स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने र औषधिजन्य जडीबुटीको अध्यापनका लागि पनि सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।