काठमाडौं- महिला तथा सामाजिक विकास समितिका सभापति एवम् नेकपा एमालेका सांसद निरुदेवी पालले संसद्मा विचाराधीन नागरिकता विधेयक तत्काल संसद्बाट पारित गर्न माग गरेकी छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उनले उक्त माग गरेकी हुन्। ‘नागरिकता विधेयक लामो समय राज्यव्यवस्था समितिमा रह्यो र अहिले संसद्मा विचाराधीन छ।
यस्तो संवेदनशिल विषयमा संसद् र सरकार किन मौन छ। यो विधेयक पास नहुँदा विशेष अवस्थामा रहेका नेपाली नागरिक नागरिकता लिनबाट वञ्चित छन्,’उनले भनिन्,‘त्यतिमात्रै होइन नागरिकता नहुँदा उच्च शिक्षा हासिल र रोजगारीबाट पनि वञ्चित हुनु परेको छ। र गएको निर्वाचनमा मताधिकार पनि प्रयोग गर्न पाएका छैनन्।’
उनले विधेयक पारित नहुँदा एकल महिलाका सन्तानहरु लैङ्गिक अल्पसंख्यकहरुले लैङ्गिकता पहिचान सहितको नागरिकता पाउनबाट वञ्चित हुनु परेको भन्दै संसद्बाट छिटो भन्दा छिटो नागरिकता विधेयक पारित गर्न माग गरेकी हुन्।
‘आमाको सिफारिसमा नागरिकताका सम्बन्धमा ऐतिहासिक जनआन्दोलन पश्चात पुनःस्थापित संसद्मा २०६३ जेठ १२ गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा र कमला पन्त लगायतका सांसदहरुको समर्थनमा दर्ता भएको संकल्प प्रस्ताव जेठ १६ गते संसद्मा छलफल भइ सर्वसम्मतीले पारित भएको थियो,’उनले भनिन्,‘आमाको सिफारिसमा नागरिकता पाउने विषय संविधान भावना र मर्म अनुरुप तत्काल आमाको सिफारिसमा नागरिकता पाउने अधिकारको पनि सुनिश्चितता गर्न संसद् र नेपाल सरकारसँग माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।