काठमाडौं- नेकपा एमालेका सांसद् नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थापनको निहुँमा नुवाकोटका जनतामाथि दमन भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले भने- 'यही जेठ २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिबेसीको बीचमा रहेको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भयो। स्थानीय तहको निर्वाचनमा चुनाव चिह्न रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ।'
खतिवडाले फोहोर व्यवस्थापनको नाउँमा नुवाकोटमा १७ वर्षअगाडिदेखि बेथिति भइरहेको बताए। 'त्यसको व्यवस्थापन गरेर स्थानीय जनताको जायज माग सुनेर र पूरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्', उनले भने।
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने मुख्य स्थान हो, बञ्चरेडाँडा। काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी भएका बालेन्द्र शाहले लौरो चिह्नबाट चुनावी प्रतिस्पर्धा गरेका थिए। उनी स्वतन्त्र उम्मेदवार थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।