काठमाडौं– बुधबार सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ। बुधबार नेप्से परिसूचक २.९८ प्रतिशत अर्थात ६०.२२ अंक बढेर २०८०.४४ बिन्दुमा पुगेको छ।
यसदिन सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.१५ अंक र सेन्सेटिभ इण्डेक्स ३.८० अंक बढेको छ।
नेप्सेसँगै बुधबार कारोबार रकममा पनि सुधार भएको छ। २३१ स्टकको ३० हजार ६८४ पटकको कारोबारमा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको ५० लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस्तै ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यसैगरी, बुधबार तेह्रथुम पावर कम्पनी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतले बढेको छ। माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य सर्वाधिक ४.११ प्रतिशत घटेको छ। अन्य स्टकहरूको मूल्य गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ।
बुधबार कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी बैंक र हिमालयन डिष्टिलरीको करिब ५ करोडको सेयर खरिदबिक्री भएको छ।
बुधबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ।
त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।
लगानी र बैंक उपसमूहको परिसूचक भने बुधबार २ प्रतिशतभन्दा बढी बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।