काठमाडौं– देशमा कोरोना महामारीको दोस्रो लहर चलिरहेको थियो। निषेधाज्ञाका कारण देश ठप्प थियो। यस्तो अवस्थामा भिडभाड हुने कार्यक्रममा बन्देज हुनु अस्वाभाविक थिएन।
सरकारले २०७८ वैशाख १६ बाट निषेधाज्ञा जारी गeर्ने घोषणा गर्ने सूचना निकालेसँगै त्यसअघि नै काठमाडौं उपत्यका छाड्नेको लर्को लागेको थियो। त्यही लर्को मिसिएका थिए कलाकार भीष्म जोशी। उनी वैशाख १५ गते नै उपत्यकाबाट बाहिरिएका थिए।
काठमाडौं छाड्दै गर्दा उनी केही समय कैलालीको टीकापुरस्थित घर बसेर ‘फ्रेस’ हुने र काठमाडौं फर्किएर कलाकारिताको नियमित काममा लाग्ने योजनामा थिए। तर, सोचेको जस्तो भएन।
उनी करिब १० महिना घर बसे। यो बसाइले उनको जीवनको गति नै परिवर्तन गरिदियो। कलाकारिताबाट पूर्ण रूपमा टाढा भए। केही साथीहरूले गरिरहेको भर्चुअल नाटक उनले पनि हेरिरहेका थिए। उनी आफैं भने फर्किएर काठमाडौं आउने कि नआउने भन्ने अन्योलमा थिए।
उनी काठमाडौं फर्किने निर्णयमा पुगे। तर, फरक ढंगले काम गर्ने सोच बनाए। यही सोचबाट उनको जीवनको दोस्रो इनिङ्स सुरु भयो।
रंगमञ्च र सिनेमाका लागि भीष्म नयाँ थिएनन्। २०६४ सालमा काठमाडौं छिरे यता उनी निरन्तर यही क्षेत्रमा सक्रिय थिए। कहिले डबली नाटक त कहिले सडक नाटकमा देखिन्थे। सहायक पात्रको भूमिकामा दर्जनभन्दा धेरै सिनेमामा काम गरिसकेका थिए।
‘तर, यो सबै हुँदा पनि के नभएको जस्तो महसुस भएको थियो,’ उनी भन्छन्, ‘काम त गरिरहेको थिएँ, त्यसमा केही अपुग थियो। अवसर थिए, काम थियो। तर, मनमा एक प्रकारको बेचैनी थियो।’
निषेधाज्ञामा घर बस्दा उनलाई आत्मसमीक्षा गर्ने मौका मिल्यो। बाल्यकालबाटै भीष्ममा अभिनयप्रति भोक थियो। अछाममा जन्मिएका उनले टीकापुरका राज र सार्दुल हलमा सिनेमा हेरेर आफ्नो बाल्यकाल बिताएका थिए। त्यो बेला अच्चम लाग्थ्यो, कसरी पर्दामा मान्छेहरु हिँडिरहेका होलान्? दाजु तर्क जाेशीले उनलाई सिनेमासँग परिचित गराए। हलमा सिनेमा हेर्ने माहाेल सिर्जना गर्नेदेखि काठमाठाै आएपछि भीष्मलाई सिनेक्षेत्रसँग घुल्ने अवस्था सिर्जना गरिदिए।
‘एक दिन प्रोजेक्टरको पछाडि बसेर सिनेमा हेर्न पाएँ,’ भीष्म सम्झिन्छन्, ‘त्यो मेरो लागि नौलो अनुभव थियो।’ पर्दामा देखिने आकृतिहरू बनाउन दौडिरहेको प्रकाशसँगै दौडिएका आँखाले कलाकारलाई देखे। बाल्यकालका यी दृश्यले उनलाई अवचेतनमै महसुस गरायो, ‘म कलाकार बन्नुपर्छ।’
कलाकारिताप्रतिको भोक थियो। टीकापुरमा सुधांशु जोशी अभिनित सिनेमा ‘सीमारेखा’ प्रदर्शन हुँदै थियो। शहरभरि पोस्टर टाँसिएका थिए। भीष्मले एउटा पोष्टरमा कलमले अभिनेताको नाम ‘सुधांशु’लाई काटे र आफ्नो नाम भीष्म लेखे। थर एउटै। उनी सम्झिन्छन्, ‘अभिनेतामा आफ्नो नाम लेख्दाको सन्तुष्टि नै बेग्लै थियो।’
देखेको सपनालाई पछ्याउँदै काठमाडौं खाल्डो छिरेपछि उनको दैनिकी सपना पूरा गर्नतर्फ मोडियो। बिहान पढ्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुर धाउँथे। ११ बजे कलेज सकिएपछि चोभारको डाँडो उक्लिन्थे। त्यो बेला नेपाली सिनेमा छायांकनका लागि चोभार उत्कृष्ट ठाउँ थियो। बिरलै सिनेमा हुन्थे, जसमा यहाँको दृश्य कैद नहोस। भीष्म केही पर बसेर सिनेमा छायांकन भएको हेर्थे।
‘दैनिक जसो सिनेमाको सुटिङ हेर्न जाँदा त्यहाँ आउनेहरूले चिन्न थालेका थिए,’ उनी भन्छन्। एक दिन ‘प्रोडक्सन टिम’को एक जनाले उनलाई ‘हरेक दिन किन यहाँ आएको?’ भनेर सोधे। उनले ‘सुटिङ बुझ्न’ भन्ने जवाफ दिए। उसले ‘बुझ्यौ त?’ भनेर सोध्दा उनले ‘छैन’ भने।
बरु उनले अभिनय र सिनेमाबारे स्वअध्ययन थाले। आफैं अभ्यास गर्न पनि थाले। अनि बिस्तारै अभिनय गर्ने हिम्मत बढ्यो। त्यसपछि अवसर खोज्न थाले। त्यसपछि, ‘सायद’ सिनेमामा पर्दामा देखिने मौका पाए।
त्यस सिनेमामा उनी थोरै समय मात्र देखिन्छन्। तर, त्यसले अवसरको ढोका खोल्यो। भूमिका भने सानै हुन्थ्यो। कतिपय सिनेमामा उनको शरिर आयो, अनुहार देखिएन। कतिपयमा शरीरै पनि भीडभाडतिर धमिलो हुन्थ्यो। ‘जालो सिनेमामा मात्रै धेरै समय स्क्रिनमा देखिने मौका पाएँ,’ भीष्म संघर्षका दिनहरु सम्झिन्छन्।
त्यसपछि उनले ‘साङ्लो’, ‘कठपुतली’ सिनेमामा काम गरे। हरर विधाको ‘कठपुतली’ सिनेमालाई भिमसेन लामाले निर्देशन गरेका थिए । ‘साङ्लो’ भने त्यसबेलाका चर्चित अभिनेता विराज भट्टको सिनेमा थियो। भीष्म आफैंले सुटिङका क्रममा देखेका कलाकारसँग काम गर्न पाउँदाको त्यो अनुभव बयान गर्न असम्भव भएको उनी बताउँछन्।
सिनेमासँगै उनी रंगमञ्चमा पनि सक्रिय थिए। नाटकमा त उनी स्कुलदेखि नै संलग्न थिए। अछाममा कक्षा ७ मा पढ्दा आफैंले लेखेको नाटक उनले निर्देशन गरेका थिए। त्यसमा उनको अभिनय पनि थियो। उनी भन्छन्, ‘त्योबेला महिलाको भूमिकामा पनि पुरुषले अभिनय गर्थे। तर, मैले निर्देशन गरेको त्यो नाटकमा महिला चरित्रमा नै स्कुलकै केटी साथीहरूले अभिनय गरेका थिए।’
उपत्यका छिरेपछि उनको रंगकर्म रोकिएको थिएन। सिनेमाप्रतिको भोक र अभिनयसँगै रंगकर्मप्रतिको सक्रियतालाई पनि जारी राखे। रंगमञ्चको औपचारिक प्रशिक्षणका लागि सर्वनाम थिएटरमा भर्ना भए।
२०७४ सालमा उनले नाटक निर्देशन गरे। रामलाल जोशीको कथासंग्रह ‘ऐना’को एउटा कथा ‘श्रीमान् वीरबहादुर’ मा आधारित रहेर उनले नाटक बनाएका थिए। नाटकको नाम थियो ‘श्रीमान् वीरबहादुर।’ चितवनमा संघर्षरत नाट्यकर्मीहरुको समूह ‘कर्मी नाट्य समूह’सँगको सहकार्यमा उनले यो नाटकलाई चितवनकै ‘नारायणी कला मन्दिर’मा मञ्चन गरे। यसमा उनले राम्रो प्रतिक्रिया पाए।
उनी कलाकारितामा सक्रिय भएर जीवन चलाइरहेका थिए। त्यतिबेलै कोरोना महामारी आयो। २०७६ सालको अन्त्यबाट जनजीवन प्रभावित हुनथाल्यो। कतिपय प्राविधिक तथा कलाकारले यो क्षेत्रबाटै विस्थापन हुनुपर्ने अवस्था आयो।
पहिलो लकडाउनमा भीष्मले आफूलाई जसोतसो ‘फर्म’मा राखे। महामारी केही साम्य भएजस्तो भयो। तर, महामारी पुनः सुरु भयो। २०७८ वैशाख १६ बाट फेरि निषेधाज्ञा भयो। अनि टीकापुरस्थित घर पुगे।
‘घर पुगेपछि मैले धेरै समय बिताएँ,’ भीष्म भन्छन्, ‘बाल्यकालदेखि मैले गरेका संघर्षहरु सम्झिएँ। आत्मसमीक्षा गरें। काम त भइरहेको छ, तर किन सन्तुष्टि छैन भन्ने कुराको आफैंभित्र खोजी गरें। अधिकांश समय फ्रस्टेसनमा बित्यो।’ तर, काम गर्ने हुटहुटीले भने सताइरहेको थियो। अब संख्या नभएर गुणस्तरमा ध्यान दिनुपर्ने उनले ठहर गरे। ‘अभिनय गर्दा अनुहार नै नदेखिएको अवस्थाबाट स्क्रिनमा पर्याप्त समय पाउने अवस्थासम्म आइपुग्दाको दुःख सम्झेर पनि अब काम छानेर गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्।
टीकापुरबाटै उनले अभिनेता विपिन कार्की, निर्देशक दिपेन्द्र लामा, अमरदीप सापकोटा र श्याम खड्कालाई फोन गरे। काठमाडौंमा महामारीका कारण सिनेक्षेत्र प्रभावित थियो। तत्काल काम पाउने अवस्था थिएन। तर, साथीहरूले फोनमा भीष्मलाई भने, ‘काठमाडौं आउ, यतै संघर्ष गर्नुपर्छ।’
‘साथमा पैसासमेत थिएन। ८० वर्षकी हजुरआमासँग ४ हजार रुपैयाँ मागेर काठमाडौं आएँ। मेरो जीवन फेरि शून्यबाट सुरु गर्नुपर्छ भन्ने सोच लिएर आएँ। काठमाडौं आएपछि सपना पछ्याउन थालेँ,’ भीष्म भन्छन्।
उनले लकडाउनको समयमा ६८ देशको सिनेमा हेरेका थिए। काठमाडौं फर्किएपछि सिनेमा र कलाकारिता क्षेत्रसँग सम्बन्धित क्षेत्रमा कामको खोजी गरे। स्क्रिप्ट लिएर निर्देशकहरु आउँथे। तर, उनमा जस्तोसुकै भूमिकामा नदेखिने अडान थियो। केही समयपछि उनी ‘एभरेष्ट फिल्म एकेडेमी’मा एकेडेमीक कोअर्डिनेटरको भूमिकामा आवद्ध भए। सिनेमामा काम गरेपनि सीमित र जिम्मेवार भूमिकामा देखिने उनकाे अडान थियाे।
भीष्म भन्छन्, ‘कलेजमा भएपछि म सिनेमा क्षेत्रमै पनि रहेँ। यसले मलाई थप बुझ्ने मौका मिल्यो। नयाँ पुस्तासँग साक्षातकार हुँदा नयाँ कुरा सिकिन्छ। अभिनयको काममा पनि सीमित तर गुणस्तरीय काम गर्न पाइन्छ।’
आज उनलाई आफ्नो बाटोमा अलमल छैन। सहायक भूमिकाबाट सिनेमामा पसेका उनी अब आफैंले लेखेको सिनेमामार्फत् प्रमुख भूमिकाको तयारीमा छन्। बीचमा आइरहेका कामका ‘अफर’हरूलाई छानेर लिइरहेका छन्।
‘सहायक भूमिकामा काम गर्ने मान्छेले प्रमुख पात्रमा काम गर्ने विषय अफ्ठ्यारो हो’, भीष्म भन्छन्, ‘अनुहारको कुरा आउँछ। चकलेटी भूमिका भनिन्छ। पात्रको अभिनयलाई प्रमुख राखेर अनुहारलाई छाडेर हिरो छान्ने विषय विस्तारै विकास भएको छ। छिर्दा सियो बनेर छिर्ने हो, तर निस्किँदा बृहत भएर निस्किने हो।’
आफ्नो जीवनको दोस्रो ‘इनिङ्स’ कसरी खेल्ने भन्ने विषयमा भीष्म स्पष्ट छन्। अब उनलाई न हतार छ, न कुनै अन्योल। उनी लामो रेसको घोडा भएर निस्किन चाहन्छन्। भन्छन्, ‘म कस्तो भूमिकामा देखिने भन्ने विषयमा अहिले छनोट नगरेमा भोलि मैले पाउने भूमिका पनि उस्तै हुन्छ।’
अहिले भीष्म आफ्नो पछिल्लो लघु सिनेमा 'अन्तर–वार्ता'को रिलिजको तयारीमा छन्। सँगै उनको नयाँ सिनेमा 'रातो आकाश' पनि छांयाकनमा जान लागेको छ। भीष्म भन्छन्– सिनेमाले सपना देख्न सिकायो, म त्यही सपनामा बाँचिरहेको छु!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।