काठमाडौं– गृहमन्त्री जनार्दन शर्माले जनतालाई शासन नभई सेवा प्रदान गर्नुपर्ने बताएका छन्।
नेपाल प्रशासन सेवाका कर्मचारीहरुका लागि कानुन र न्याय सम्बन्धी तीन महिने तालिमको उद्घाटन गर्दै गृहमन्त्री शर्माले सेवामुखी प्रशासनमा जोड दिए । उनले विगतदेखि नै सरकारी सेवा झन्झटिलो रहँदै आएको भन्दै त्यसलाई सहज बनाउनुपर्ने औंल्याए।
गृहमन्त्री शर्माले सामान्य जनताका समस्या समाधानतिर निजामती सेवा लाग्नुपर्नेमा जोड दिँदै त्यस क्रममा इमानदारी छाड्न नहुने सुझाए । उनले भने, ‘तपाईहरु दक्ष मात्र होइन, इमानदार पनि हुन आवश्यक छ।’
उनले सो तालिम औपचारिकता मात्र नभएर गृह मन्त्रालयले ल्याएका ८४ बुँदे मार्गचित्रको एउटा भाग भएको जिकिर गर्दै तालिममा फेल हुनेहरुलाई प्रमुख जिल्ला अधिकारीमा नियुक्त नगरिने समेत उजागर गरे।
यसैगरी कानुनमन्त्री यज्ञबहादुर थापाले यो तालिमले सच्चा राष्ट्रसेवक उत्पादन गर्ने विश्वास लिएको बताउँदै मिहिनेतका साथ सबै विषयवस्तुमा दक्षता हासिल गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।