तनहुँ, (रासस)– तनहुँमा नेपाली काँग्रेस र नेकपा एमालेले उम्मेदवारको नामावली केन्द्रमा पठाएका छन्।
काँग्रेस तनहुँले मंसिर २१ गते हुने निर्वाचनका लागि १०७ जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले बताउनुभयो । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वगृहमन्त्री गोविन्दराज जोशीको नाम प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ तनहुँ क्षेत्र नं १ बाटै सिफारिस गरिएको काँग्रेस तनहुँले जनाएको छ।
क्षेत्र नं १ बाट संघीय निर्वाचनमा काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र सांसद रामचन्द्र पोख्रेललगायतको नाम सिफारिस गरिएको छ।
त्यसैगरी क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा सांसद धुव्र वाग्ले, केन्द्रीय सदस्य प्रदीप पौडेल, नेपाल तरुण दलका पूर्वमहामन्त्री पुष्पराज पराजुलीलगायतको नाम सिफारिस भएको छ।
त्यसैगरी नेकपा एमाले तनहुँले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि क्षेत्र नं १ मा कृष्णकुमार श्रेष्ठ र रनसिं नेपालीको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचन उम्मेदवारमा केदार सिग्देल र विष्णुभक्त सिग्देलको नाम सिफारिस गरी पठाइएको एमाले तनहुँले जनाएको छ।
प्रतिनिधिसभाका लागि २ र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र कायम गरिएको तनहुँमा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क)का सदस्यमा विद्या ढकाल र रामबहादुर गुरुङ तथा प्रदेश सभा (ख) का सदस्यमा प्रतापलाल श्रेष्ठ र बाबुराम अधिकारीको नाम सिफारिस भएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा (क) का सदस्य उम्मेदवारमा चित्र थापा, मुक्ति तिमिल्सेना र सीता घिमिरे तथा प्रदेशसभा (खं)का सदस्य उम्मेदवारमा किरण गुरुङ र होमबहादुर थापाको नाम सिफारिस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।