काठमाडौं – मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली खेलाडी रुजेश शाहीले कास्य जितेका छन्।
रुजेशले पुरुष ६० केजीमा नेपाललाई कास्य दिलाएको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठले जानकारी दिए । विभिन्न राष्ट्रका ११ खेलाडी सहभागी रुजेशको स्पर्धामा म्यानमार र मलेसियाका खेलाडी क्रमशः पहिलो र दोस्रो भए।
रुजेश बर्सेनि हुने विश्व च्याम्पियनसिप अन्तर्गत २०१५ मा थाइल्यान्डको बैंककमा भएको सातौं संस्करणका रजत विजेता हुन् । त्यति बेला उनले ५५ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए।
दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अर्का नेपाली खेलाडी कमल भण्डारी भने पदकविहीन बने । ८ खेलाडी सहभागी पुरुष ५५ केजीमा कमल प्रि जजिङ राउन्डबाटै बाहिरिए । गत अगस्टमा दक्षिण कोरियाको सिओलमा भएको ५१औं एसियाली शारीरिक सुगठन प्रतियोगितामा भने कमलले कास्य जितेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा त्यो उनको ‘डेब्यु’ थियो।
प्रतियोगिता अन्तर्गत आइतबार एथलेटिक फिजिक्सतर्फ महिला १६० सेन्टिमिटर उँचाइसम्ममा ननिता महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । ननिताको स्पर्धामा ८ प्रतिस्पर्धी रहनेछन् । सोही स्पर्धामा ननिताले थाइल्यान्डको पटायामा गत वर्ष भएको आठौं संस्करणमा कास्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो पदक जित्ने महिला खेलाडीको इतिहास रचेकी थिइन् । आठौं संस्करण ननिताको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।