डोटी– विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी २२ वर्षीया सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।
महिनावारी अर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरुमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै अवस्थामा फर्कनु पर्दा अझ निराश बनाएको छ।
उनी भन्छिन्, ‘त्यतिबेला हामीलाई राख्नैका लागि गोठ बनाइएका थिए, अहिले गाईभैँसी र बाख्राका खोरमा बस्नुपरेको छ। झन पशुजस्तै भएका छौं।’
महिलालाई मध्य तथा सुदूरपश्चिमका जिल्लामा वर्षौंदेखि कायम रहँदै आएको रजश्वला भएपछि गोठमा राख्ने प्रथाविरुद्ध जनचेतना अभिवृद्धिदेखि छाउ भएकी महिलालाई राख्न बनाइएका गोठहरु भत्काउने अभियान नै सुरु गरियो।
यसलाई सर्वत्र राम्रो कामको रुपमा प्रचार पनि गरियो तर समाजमा गहिरोसँग गाडिएको अन्धविश्वासको जरा नउखेलिएका कारण अहिले ती महिलालाई पहाडी भेगमा गाईभैँसी र बाख्राका खोरमा राख्ने गरिएको छ। यस्तै सहरी क्षेत्रमा पनि सहजै घरभित्रको कामकाजमा सहभागी हुन वञ्चित गराउने गरिन्छ।
छाउ भएपछि गोठमा राख्ने प्रथाबारे सर्वत्र आलोचना र त्यसरी गोठमा बस्न बाध्य पार्नेलाई कानुनी कारबाहीको माग भएपछि सरकारले प्रशासनमार्फत गोठ भत्काउन निर्देशन मात्र जारी गरेन, फौजदारी अपराधभित्रै समावेश गर्यो।
अहिले गोठ भत्काउने क्रम रोकिएपछि कतिपय गाउँमा छाउगोठ अझै कायम रहेको स्थानीय बताउँछन्। सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय डोटीले २०७६ माघ ७ गतेबाट जिल्लामा सञ्चालन गरेको छाउगोठ हटाउने दुईहप्ते अभियानको क्रममा जिल्लामा २१० छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनका अनुसार बडीकेदार गाउँपालिकाको विभिन्न वडामा ९५, जोरायल गाउँपालिका– ५ मा ३, पूर्वीचौकी गाउँपालिका–५ काडामडौँमा १४, वडा नम्बर ७ मा १८ तथा बोगटान गाउँपालिका– १ मात्रै ८० गरी कूल २१० वटा छाउगोठ भत्काइएको थियो ।
महिनावारी भएकी महिलालाई परपुरुषले छोएमा, दूध दही तथा पोषिलो खानेकुरा दिएमा देवता रिसाउने तथा गाउँमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका महिलाको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन।
समाजमा अगुवा मानिएका वा पढेलेखेका परिवारमासमेत यो प्रथा कायमै रहेको दिपायल सिलगढी नगरपालिका–३ दिपायलका भरतबहादुर द्वारिया बताउँछन्। उनी भन्छन्, ‘छाउ भएपछि गोठमा राख्ने विषयमा भएका अन्धविश्वास रहेसम्म यो प्रथा कायमै रहने देखिन्छ । सरकारले गोठ भत्काउ भने पनि अन्तरआत्माबाट अन्धविश्वास चिर्न सक्नुपर्छ।’
मुलुकी अपराधसंहिता २०७४ को दफा १६८ (३) मा महिला रजस्वला भएको अवस्थामा छाउ गोठमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। तर, यो कानुन कार्यान्वयनमा भने आएको छैन। अझै पनि सुदूरपश्चिमका विभिन्न गाउँमा छाउ भएकी महिलालाई देवी देवता रिसाउने नाममा गोठमै राखिने गरेको पूर्वीचौकी गाउँपालिकाका चक्रबहादुर कठायत बताउँछन्।
छाउ भएपछि बस्न बनाइएका गोठहरु भत्काउने अभियान चलाइए पनि यहाँका कतिपय गाउँमा अझै पूर्णरुपमा छाउगोठ यथावत् रहेको उनको भनाइ छ।
यो कुप्रथा अन्त्य नहुँदा कैयौं महिलाले गोठमै अकालमा ज्यान गुमाएका उदाहरण छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक महिलाको तीन वर्ष पहिले छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो। राति आगो बालेर सुतेको बेला गोठमा सल्किएको आगोबाट उनको ज्यान गएको थियो ।
यस्तै, छिमेकी जिल्ला अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको पनि छाउगोठमै मृत्यु भएको थियो। गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन्। गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उनको पोष्टमार्टम पनि गरिएन।
त्यस्तै, बाजुराको कोटिला खोयाकी १७ वर्षीया भावना मल्लको पनि चार वर्ष पहिले महिनावारी भएकै समयमा मृत्यु भयो। उनी पनि छाउगोठमै मृत फेला परेकी थिइन्। राति खाना खाएर सुतेकी भावना बिहान मृत फेला परेकी थिइन् । उनको पनि पोष्टमार्टमबिना नै दाहसंस्कार गरिएको थियो।
महिनावारी भएका महिलालाई छुनु हुँदैन र उनीहरूलाई छोएमा नर्क गइन्छ भन्ने अन्धविश्वासका कारण पनि मृतकको पोष्टमार्टम नगरिएको स्थानीयवासीको भनाइ छ। यी त प्रतिनिधिमूलक घटनामात्रै हुन्। यिनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका अधिकांश महिला छाउ भइसकेपछि गोठमा बस्नुपर्ने बाध्यताबाट पिल्सिएका छन्।
सामाजिक परिबन्धका कारण महिनावारी भएका समयमा गोठभित्रै बस्नुपर्ने बाध्यताले विगतमा सुदूरपश्चिममा धेरै महिलाको अकालमै ज्यान गएको दिपायल सिलगढी नगरपालिका–४ की तुलसी शाहीले बताइन्। उनले ‘महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, कीरा, बाघ भालुको आक्रमणबाट थुप्रै महिलाको ज्यान गएका घटना सार्वजनिक हुँदा पनि यसतर्फ कसैको ध्यान जान सकेको छैन ।’
मुलुकमा राजनीतिक परिवर्तन भए पनि सुदूरपश्चिममा छाउ भएका महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन। छाउ भइसकेपछि गोठमा बस्नुपर्ने सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा पछाडि पर्नुपरेको महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएकी डोटीकी सीता रायमाझीको भनाइ छ।
‘‘छाउ भइसकेपछि गोठमा बस्न बाध्य महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन्’ उनी भन्छिन्, ‘छाउ भएका महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् र मनमा गुम्स्याएर राख्न बाध्य छन्।’
छाउ भएपछि गोठमै बस्नुपर्ने बाध्यताका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा २० भन्दा बढी महिला तथा किशोरीले ज्यान गुमएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकमा उल्लेख छ। विभिन्न संघ संस्थाले यो कुप्रथाविरुद्ध अभियानहरु सञ्चालन गरे पनि महिला गोठबाट घरसम्म पुग्ने अवस्था बनिनसकेको महिला अधिकार क्षेत्रमा काम गर्दै आएकी दिपायल कुमालीकोटकी मालती कठायत बताउँछिन्।
बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा अझै कायमै रहेको छ। यतिमात्र नभई महिनावारी भएका छात्रासमेत विद्यालय जान पाउँदैनन्। सामाजिक कुसंस्कारको प्रभावले महिला स्वयं पनि सामाजिक काम, मेला जात्रा, विद्यालय जान नमान्ने गरेको कठायतको अनुभव छ ।
पितृसत्तात्मक सोच पनि यहाँका महिला अगाडि बढ्न नदिने तगारो बनेको जिल्ला इन्सेक डोटीका प्रतिनिधि दीर्घबहादुर खत्रीले बताए। उनी भन्छन्, ‘बोक्सीको निहुँमा कुटपिटका साथै गाउँ निकाला गरिनु, महिनावारी भएपछि खुला रूपमा सामाजिक कार्यक्रम, मेलापर्व, विद्यालयमा जान नपाउँदा महिला तथा बालिकामा सामाजिक हिंसाको छाप पर्ने गरेको छ ।’
यस्तै छाउ भएका बेला गोठमा बस्न बाध्य बनाउने मात्रै होइन, सुदूरपश्चिमका पहाडी जिल्लामा बोक्सीको आरोपमा पनि कैयौं महिलाले हिंसा खेप्नुपरेको छ। बोक्सीकै आरोपमा कैलालीको बेलादेवीपुरमा २०६९ चैत २३ गते क्रुर यातनाको सिकार बनेकी राजकुमारी रानाको मानसिक समस्याकै कारण सोही वर्षको मङ्सिर महिनामा मृत्यु भएको थियो।
कथित बोक्सीको आरोपमा स्थानीयले मलमूत्र खुवाएर राजकुमारीलाई निर्घात कुटपिट गरेका थिए। घटनापछि उनी समाजमा सहज घुममिल हुन डराउने तथा उनको पहिलेको भन्दा व्यवहार पनि परिवर्तन भएको थियो। त्यही घटनामा शारीरिक तथा मानसिक यातना पाएकी उनको चिन्ताकै कारण मृत्यु भएको परिवारजन बताउँछन्।
विसं २०६९ मा नै मात्रै कैलालीमै किशोरी राधा चौधरीलाई बोक्सीको आरोपमा भोलेबाबा भनिने स्थानीय झाक्रीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। सामाजिक हिंसाका कारण समाजबाट तिरस्कृत हुनुपर्ने मानसिकताले पीडित महिलाले आत्महत्याको बाटो रोज्ने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ।
कानुनी अज्ञानताका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण भेगमा सामाजिक हिंसाका घटनामा वृद्धि भइरहेको कानुन व्यवसायी शङ्करदीप मडैको धारणा छ। ‘लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनुहुँदैन भन्ने नयाँ संविधानमा उल्लेख गरिएको छ,’ उनी भन्छन्, ‘नेपालको संविधान महिलामैत्री छ तर त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा हिंसाका घटना बढ्ने गरेका छन् ।’
महिलाका प्रगतिको बाधक सामाजिक हिंसा नै प्रमुख कारण रहेको दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बाजी खड्का बताउँछन्। सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा, बहुविवाह, बलात्कार, यौनहिंसा, मानव बेचबिखन र सामाजिक हिंसा (बोक्सी, छाउ भएपछि गोठमा बस्ने प्रथा) महिलाको प्रगतिका लागि बाधक बनेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।