काठमाडौं– प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिक आइरहेको समयमा निर्वाचन लगायत अन्य महत्वपूर्ण विधेयकहरु पारित गर्नु पर्ने व्यवस्थापिका संसद बैठकमा सांसदहरु हाजिर गरेर हिँडेपछि विधेयक अलपत्र भएको छ।
१ बजे संसद बैठक सुरु हुँदा करिब २ सयको संख्यामा उपस्थित भएका सांसदहरुमध्ये आधा भन्दा धेरै हाजिर गरेर हिँडेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायत अन्य विधेयकहरु अलपत्र परेका हुन्।
पहिलो पटक गणपुरक संख्या एकिन गर्दा १६१ जना रहेको संसद बैठकमा त्यसको दुई घन्टापछि भने ११० जनामा झरेपछि २२ गते १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको हो।
यसअघि पनि दुई पटक राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयकमाथि गणपुरक संख्या नपुगेका कारण छलफल हुन पाएको थिएन। आज तेस्रो पटक पारित गर्ने कार्यसुची रहेको भएता पनि गणपुरक संख्या नपुगेकै कारण रोकिएको हो।
कात्तिक ५ मा प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएपछि संसद विघटन हुने भएकाले सभामुख ओन्सरी घर्तीमगरले विधेयक पारित गरेर राष्ट्रपति कार्यलय पठाउन चाहेकी थिइन्। तर सांसदहरुले हाजिर गरेर सदनमा नबसेपछि उक्त कार्य रोकिएको हो।
दशैंअघि पनि दुई पटक कार्यसुचीमा रहेको उक्त विधेयक निर्णयका लागि पेश हुन सकेको थिएन। आजै कर्मचारी समायोजन, अन्तरसरकारी वित्त व्यवस्थापन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको थियो।
शुक्रवार सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक तथा सेवा सुविधा र महिला आयोग गठन विधेयक पारित गर्ने सुची तय गरिएको थियो। तर सांसदहरुले संसदमा पूरा समय नबस्दा उक्त विधेयकहरु कानून बन्न नपाएका हुन्। गणपुरक संख्या पुगेको भए उक्त विधेयकहरु पारित हुँदै प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालय पेश हुने थियो।
कोरम नपुग्दा बैठक स्थगीत गर्नु परेको यो पहिलो घटना होइन। यसअघि पनि विभिन्न बैठकमा सांसदहरु हाजिर गरेर हिँड्दा संसद स्थगीत हुदै आएको छ। सभामुखले महत्त्वपूर्ण विधेयकहरु पारित गर्ने बैठकमा सांसदहरुलाई नहिँड्न आग्रह गरे पनि उनीहरुले त्यसलाई अटेर गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।